ग्यासको मूल्य प्रतिसिलिन्डर २५ रुपैयाँले बढ्यो

 

काठमाडौं, माघ २१ ।

नेपाल आयल निगमले एलपी ग्यासको मूल्यवृद्धि गरेको छ ।

अन्तर्रा्ष्ट्रिय बजारमा एलपी ग्यासको मूल्य बढेको भन्दै निगमले सोमबार राति १२ बजेदेखि लागू हुनेगरी ग्यासमा प्रतिसिलिन्डर रु २५ ले वृद्धि गरेको हो ।

यससँगै ग्यासको मूल्य प्रतिसिलिन्डर रु एक हजार ३७५ पुगेको छ ।

यसैगरी, निगमले पेट्रोल, डिजेल तथा मट्टीतेलको मूल्यमा प्रतिलिटर रु एक घटाएको छ ।

समायोजनसँगै पेट्रोलको मूल्य प्रतिलिटर रु १०९ तथा डिजेल र मट्टितेलको मूल्य प्रतितलिटर रु ९९ कायम गरिएको निगमले जनाएको छ ।

निगमले हवाई इन्धनको मूल्य भने यथावत् नै राखेको छ ।

पेट्रोलियम पदार्थको खरिद मूल्य केही घटेर आएकाले मूल्य समायोजन गरिएको निगमका प्रवक्ता वीरेन्द्रकुमार गोइतले जानकारी दिए ।

निगमले ‘पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्य्विधि, २०७१’ अनुसार प्रत्येक १५र१५ दिनमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्दै आएको छ ।

भारतीय आयल निगमले प्रत्येक अंग्रेजी महिनाको १ र १६ तारिखमा पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाउँदै आएको छ ।

मूल्य समायोजनपश्चात् भारतमा भन्दा नेपालमा इन्धन मूल्य सस्तो छ । वीरगन्ज नाकामा इन्धनको मूल्य भारतको रक्सौलमा कायम पेट्रोलको बिक्री मूल्यभन्दा प्रतिलिटर १६ रुपैयाँ ४० पैसा र डिजेलको मूल्य प्रतिलिटर १६ रुपैयाँ २७ पैसा सस्तो रहेको निगमले जनाएको छ । (रासस)