कोरोना कहरः वसन्त ऋतुका सबै हिमाल आरोहण स्थगित

 

काठमाडौं, फागुन ३० ।

सरकारले कोरोना भाइरसको सन्त्रासका कारण यस वर्षको वसन्त ऋतुमा गरिने हिमाल आरोहण स्थगित गरेको छ ।

कोरोना भाइरस भित्रिन नदिन सतर्कता अपनाउँदै सरकारले यस सिजनमा हुने सबै हिमाल आरोहण स्थगित गर्ने निर्णय गरेको हो ।

उच्चस्तरीय समन्वय समितिको बिहीबार बसेको बैठकले वसन्त ऋतुका सबै हिमाल आरोहण स्थगित गर्ने निर्णय भएको अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले जानकारी दिएका हुन् ।

पर्वतारोहणका लागि राम्रो मानिने वसन्त ऋतुमा आरोहण स्थगित गर्नुपर्दा पर्यटन क्षेत्र र मुलुकलाई भने ठूलो असर पर्ने छ । सरकारले विभिन्न हिमाल आरोहणका लागि दिएको अनुमति योसँगै रद्द भएको छ ।

समन्वय समिति बैठकले यसअघि दिइएका अनुमति रद्द गर्ने र नयाँ अनुमति नदिने निर्णय गरेपछि आरोहणको तयारीमा रहेका व्यवसायीहरु मर्कामा पर्ने देखिन्छन् ।

विभिन्न १९ निर्णय गरेको समन्वय समितिको बैठकले ‘नेपालमा पर्वतारोहण गर्ने गरी सन् २०२० को वसन्त ऋतुका लागि जारी गरिएको वा जारी गरिने अनुमति पत्र हाललाई स्थगित गर्ने’ निर्णय गरेको हो ।

यसैगरी सरकारले आउँदो मे ३१ सम्मका लागि नेपालमा आयोजना हुने अन्तर्राष्ट्रिय सभा–सम्मेलन तथा समारोहमा पनि रोक लगाएको छ ।

यही चैत १ गतेबाट नेपाल आउने विदेशी, नेपाली वा गैरआवासीय नेपालीले १४ दिनसम्म आफै अलग वा घरभित्रै क्वारेन्टाइनमा बस्नुपर्ने छ ।
(ईमेजखबरबाट साभार)