काष्ठमण्डप पुनःनिर्माणमा आवश्यक काठ अझै आएन
काठमाडौं, फागुन १६ ।
काष्ठमण्डप पुनःनिर्माणमा अपुग भएको काठ ल्याउन अझै केही समय लाग्ने भएको छ ।
अन्तरिक समस्याका कारण अहिलेसम्म ल्याउन नसकिएको र यसै महिनाको अन्तिमसम्ममा ल्याइसक्ने काष्ठमण्डप पुनःनिर्माण समितिले जनाएको छ ।
समितिका अध्यक्ष राजेश शाक्यलले यसअघि ल्याइएको काठले काम भइरहेको जानकारी दिए । आठ हजार क्युफिट काठ धनगढीबाट गत पुस १५ सम्ममा ल्याइने भनिएतापनि हालसम्म ल्याउन नसकिएको जनाइएको छ ।
छानाका लागि आठ हजार क्युफिट काठ आवश्यक पर्दछ । फागुनभित्र पनि काठ ल्याउन नसके पुनःनिर्माणको काम रोकिने बताइएको छ ।
निर्माणअन्तर्गत अहिले दोस्रो तलाको कामसँगै झ्यालढोका बुट्टा कुद्ने काम भइरहेको उहाँले बताए । हालसम्म ५६ प्रतिशत काम सम्पन्न भएको छ ।
“अहिले मुख्य चार थाम राखी बीचमा गारो लगाउने काम सकिएको छ”, अध्यक्ष शाक्यले भने, दैनिक ३० कामदारले नियमित काम गरिरहेका छन् ।
ऐतिहासिक काष्ठमण्डप पुनःनिर्माणका लागि गत वैशाख ३१ गते क्षमापूजा गरिएको थियो । गत कात्तिक २२ गते शुभारम्भ पूजा गरेर विधिवतरूपमा सो सम्पदाको पुनःनिर्माण शुरु गरिएको हो ।
तीन वर्ष्भित्र पुनःनिर्माण सक्ने लक्ष्य राखिएको छ । गत माघ २७ गते श्रीपञ्चमीका दिन निर्माणाधीन काष्ठमण्डपको मूल थाम उठाइएको थियो ।
प्रयोग गरिएका चार थाममध्ये तीन नयाँ प्रयोग गरिएका र एउटा थाम पुरानै प्रयोग गरिएको समितिले जनाएको छ ।
उक्त सम्पदा पुनःनिर्माणका लागि १९ करोड खर्च लाग्ने अनुमान गरिएकामा काठमाडौँ महानगरपालिकाले पुनःनिर्माण समितिलाई पाँच करोड ५० लाख आर्थिक सहयोग गरिसकेको छ ।
पुनःनिर्माणका लागि जम्मा १७ हजार ५८ क्युफिट काठ आवश्यक पर्दछ । केही यसअघिकै पुराना काठको प्रयोग भए पनि नयाँ केही काठ भने टिम्बर कर्पोरेशन अफ नेपालसँग लिखित सम्झौता गरी ल्याइएको छ । (रासस)