एनटिसीको दशैं अफर–६ रुपैयाँमा ६० मिनेट कुराकानी (कसरी गर्ने ?)

काठमाण्डौं, असोज २४ ।
सरकारी स्वामित्वको दुरसंचार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले दशैको अवसरमा छुटसहितका सुविधा सार्वजनिक गरेको छ । कम्पनीले दशैंलाई लक्षित गर्दै अनलिमिटेड प्याक, भ्वाईस प्याक, डाटा प्याक, रिचार्जमा बोनस लगायतका सुविधा सार्वजनिक गरेको हो ।

कहाँ कस्तो छुट ?
अनलिमिटेड प्याक अन्तर्गत जिएसएम तथा सीडीएमए मोबाइलमा अनलिमिटेड भ्वाइस र अनलिमिटेड एसएमएस सेवा उपभोग गर्न सकिने कम्पनीले जानकारी दिएको छ । कम्पनीका अनुसार ६ सय रुपैयाँमा १५ दिन समयावधिको लागि प्रत्येक दिन २ जीबी प्याक उपलब्ध गराइने छ । सो प्याक अन्तर्गत १ जीबी पिक आवर (विहान ६ बजेदेखि राती १० बजेसम्म) र १ जीबी अफपिक आवर (राती १० देखि विहान ६ बजेसम्म) प्रयोग गर्न सकिन्छ ।

सोही प्याक ७ दिन समयावधिका लागि मात्र ३ सय रुपैयाँमा समेत उपलब्ध हुनेछ । यसका साथै सो प्याक लिने सेवाग्राहीले वाउटाइम र म्युजिक नेपालको म्युजिक स्ट्रिमिङ सर्भिस निःशुल्क पाउने ब्यबस्था मिलाएको कम्पनीले जानकारी दिएको छ ।

भ्वाइस प्याक अन्तर्गत ६ रुपैयाँमा निरन्तर ६० मिनेट भ्वाइस सुविधा उपभोग गर्न सकिने छ । एक दिनका लागि मात्र उपलब्ध हुने सो सुविधा विहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म उपभोग गर्न सकिने कम्पनीले जानकारी दिएको छ । त्यस्तै डाटा प्याक अन्तर्गत ३६ एमबी डाटा ६ रुपैयाँमा एक दिनका लागि उपलब्ध हुनेछ ।

सो डाटा पनि विहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म उपभोग गर्न सकिने छ । यी अफरहरु भने कम्पनीले असोज २४ देखि कार्तिक ७ गतेसम्म उपलब्ध हुनेछन् । साथै कम्पनीको एप ‘नेपाल टेलिकम’ बाट पनि प्याकेज खरिद गर्न सकिने कम्पनीले जानकारी दिएको छ ।

कम्पनीले असोज २९ गतेदेखि कार्तिक ४ गतेसम्म १ सय र २ सयको रिचार्जमा १० प्रतिशत र ५ सय र १ हजार रुपैयाँको बोनसमा १५ प्रतिशत बोनस दिने जानकारी दिएको छ । कम्पनीले असोज ३० गतेदेखि कात्तिक ६ गतेसम्म एडीएसएल, एफटीटीएच र वाइम्याक्सको समयावधि समाप्त हुने ग्राहकहरुको समयावधि कात्तिक ७ गते सम्म थप गर्ने पनि जानकारी दिएको छ ।