उम्मेदवारी फिर्ता लिएका तिवारीले दामु प्यानललाई सघाउने

पोखरा, भदौ २८ ।
असोज ५ र ६ गते हुने पोखरा उद्योग वाणिज्य संघको ३२ औं महाधिवेशनका लागि कार्यसमिति सदस्य पदमा उम्मेदवारी दिएका कृष्णप्रसाद तिवारीले दामु अधिकारी प्यानललाई सहयोग गर्ने घोषणा गरेका छन् । बिहीबार आफ्नो उम्मेदवारी फिर्ता लिँदै तिवारीले समावेश व्यवसायिक समूहको नेतृत्व गरेका दामु अधिकारीको प्यानललाई जिताउने घोषणा गरे ।

तिवारीले स्वतन्त्र उम्मेदवारी दिएका थिए । स्वतन्त्र उम्मेदवारी दिएका तिवारीले उम्मेदवारी फिर्ता लिएर सहयोग गरेसँगै समावेशी व्यवसायिक समूहका उम्मेदवारहरु उत्साही भएका छन् । उम्मेदवारी फिर्ता लिएसँगै तिवारीले अधिकारी प्यानललाई भोट माग्न सुरु गरेका छन् ।
यसैबीच, अधिकारी नेतृत्वको समावेशी व्यवसायिक समूहको प्यानलले बुधबार पोखराको मुख्य बजार क्षेत्रमा चुनावी अभियान सञ्चालन गरेको छ । सिद्धार्थचोकबाट सुरु भएको घरदैलो कार्यक्रम चिप्लेढुङ्गा, महेन्द्रपुल, मेडिकल लाइन, बास्तोलाथर, पराजुली मार्ग लगायत क्षेत्रसम्म भएको महासचिवका उम्मेदवार किसान सुनारले जानकारी दिए ।

घरदैलोका क्रममा व्यवसायीबाट प्राप्त साथ र मायाबाट आफूहरु उत्साही भएको अध्यक्षका उम्मेदवार दामु अधिकारीले बताए । घरदैलोका क्रममा उद्योगी व्यवसायीका गुनासाहरु सुन्ने काम गरेको बताउँदै उनले व्यवसायीका गुनासाहरुको सम्बोधन गर्नका लागि प्रतिबद्ध रहेको बताए । घरदैलोका क्रममा व्यवसायिक प्यानललाई जिताउने प्रतिबद्धा व्यवसायीहरुले गरेका छन् ।