आमा समूहका महिलाहरुलाई नेतृत्व विकास तालिम

पोखरा, भदौ २४ ।
लायन्स क्लब अफ पोखरा वाराही टाउनको आयोजना तथा शितलनगर आमा समूह पोखरा १४ को स्थानीय व्यवस्थापनमा महिलाहरुका लागि नेतृत्व विकास तालिम सुरु भएको छ ।
आमा समूहमा आबद्ध महिलाहरुका लागि आयोजित नेतृत्व विकास तालिमको प्रमुख अतिथि लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालका क्याबिनेट सेक्रेटरी विनोद ढुंगानाले सोमबार उद्घाटन गरे । तालिम ३ दिनसम्म चल्नेछ ।
कार्यक्रममा बोल्दै ढुंगानाले महिलाहरुको नेतृत्व विकासका लागि तालिम उपयोगी हुने विश्वास व्यक्त गरे । डिष्ट्रिक्टका चिफ एडभाइजर महेन्द्र पौडेलले क्लब स्थापनाको छोटो समयमा महिलाहरुलाई लक्षित गरी नेतृत्व विकास तालिम आयोजना गर्नु उदाहरणीय कार्य भएको बताए ।
क्लबका अध्यक्ष कृष्ण श्रेष्ठ रोजीको अध्यक्षतामा आयोजित तालिममा लायन्सका क्लस्टर प्रमुख शिवराज आचार्य, क्लबका प्रथम उपाध्यक्ष रेनु थापा, द्वितीय उपाध्यक्ष आरती अधिकारी, क्लबका निर्देशक तथा आमा समूहका अध्यक्ष गंगा शर्मा केसी, शितलनगर टोल विकास संस्थाका उपाध्यक्ष सुशील रेग्मी, आमा समूहका सचिव कविता कार्की लगायतले बोलेका थिए ।
आमा समूहका तर्फबाट कार्यक्रमको संयोजन सहसचिव मधु लामिछाने र मीना थापाले गरेका थिए ।
महिलाहरुको क्षमता अभिवृद्धि गरी नेतृत्व विकास गर्ने लक्ष्यसहित कार्यक्रम आयोजना गरिएको समूहका अध्यक्ष गंगा शर्मा केसीले बताइन् ।
पत्रकार जमुना वर्षा शर्माले तालिमको सहजीकरण गरेकी छन् ।