वीरगञ्ज ३१ का बाढीपिडितलाई पोखरा उद्योग वाणिजय संघको सहयोग

 

पोखरा, साउन ३० ।

पोखरा उद्योग वाणिजय संघको आयोजनामा वीरगञ्ज महानगरपालिका वडा ३१ को बलेवा स्थित मुसहरबस्तीका ५० बाढीपिडित घरधुरीलाई ३ लाख बराबरको खाद्यान्न तथा लत्ताकपडा सहयोग गरिएको छ ।

पोखरा उद्योग वाणिज्य संघका उपमहासचिव चिनु गुरुङले व्यापारीहरुको छाता संगठन भएतापनि पोखरा उद्योग वाणिज्य संघले आपत–विपतमा परेकाहरुलाई सहयोग गर्दै आएको बताइन् । यस अभियानलाई विभिन्न संघसंस्थाहरुको सहकार्य र समन्वयमा सफल पारिएको भन्दै उनले यस्ता प्राकृतिक प्रकोपलाई न्युनिकरण गर्नका निम्त्ति सबैको ध्यान जान आवश्यक रहेको बताइन् ।

वडा नं ३१ को बलेवामा मुसहर जातिको बाहुल्यता रहेको र शिक्षा तथा स्वास्थ्यको दृष्टिकोणले पछाडी रहेको भन्दै स्थानिय सरकारले मुसहर जातिका बालबालिका, महिला एवं युवाहरुका क्षेत्रमा महत्वपुर्ण काम गर्न अझै बाँकी रहेको उनको भनाई थियो ।

राहत वितरण कार्यक्रममा बोल्दै बलेवा वडा नं ३१ का वडासदस्य अदालत अन्सारीले पोखरादेखि टाढा आएर अत्ति व्यवस्थित तरिकाबाट राहत वितरण गरेकोमा पोखरा उद्योग वाणिज्य संघलाई विशेष धन्यवाद दिएका थिए । उक्त राहत वितरण पहिलोपटक व्यवस्थित र मर्यादित तवरबाट भएको भन्दै सहयोगले मुसहर बाढी पिडितलाई ठुलो राहत पुगेको उनको तर्क थियो ।

सो अवसरमा पखेटा नेपालका अध्यक्ष विनु श्रेष्ठले मुसहरबस्तीमा रहेका स्थानीय बासिन्दाहरुलाई सेनेटरी प्याडको उपयोगिता बारे समेत जानकारी दिएकी थिइन् ।

राहत वितरण अभियानमा पोखरा वाणिज्य संघका प्रतिनिधिहरु, बालश्रम न्युनिकरण कार्यक्रमका परियोजना संयोजक प्रिती पाण्डे, प्रशासन संयोजक सरिता ताम्राकार, नेपाल व्युटिसियन संघका गण्डकी प्रदेशका अध्यक्ष कल्पना कोईराला, लायन्स क्लब अफ पोखरा व्युटी सिटिका प्रथम उपाध्यक्ष मिना प्रधान लगायतको उपस्थिति रहेको थियो ।

राहत वितरण अभियानमा वीरगञ्ज महानगरपालिका वडा ३१ को बलेवाका सुरक्षाकर्मी तथा जनप्रतिनिधिको निगरानीमा साम्रागी वितरण गरिएको थियो ।