‘विश्वविद्यालयहरु राजनीति गर्ने थलो होइन’
काठमाडौँ, पुस १३ ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विश्वविद्यालयहरु राजनीतिक गर्ने थलो नभएको बताएका छन् ।
आइतबार काठमाडौंमा नेपाल प्राध्यापक संघको कार्यकाल हस्तान्तरण कार्यक्रममा उनले राजनीतिक आस्थाका आधारमा नभई अब प्राध्यापकहरुको परिचय दक्षताको आधारमा हुने बताएका हुन् ।
मन्त्री पोखरेलले नेपाललाई शैक्षिक हबको रुपमा विकास गराउने गरी शिक्षा नीति बनेको भन्दै खोज र अनुसन्धानमूलक शिक्षामा जोड दिनुपर्ने बताए ।
कार्यक्रममा मन्त्री पोखरेलले उच्च शिक्षा, प्राविधिक शिक्षासमेत जोडेर तीन विधेयक पास हुने तयारीमा रहेको जानकारी गराए ।
त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा. धर्मकान्त बास्कोटाले विश्वविद्यालयको साख जोगाउने गरी शिक्षा प्रदान गर्न प्राध्यापकहरुलाई आग्रह गरे ।
कार्यक्रममा गत कार्तिक ३० गते भएको प्राध्यापक संघको निर्वाचनमा निर्वाचित टिमलाई पदभार ग्रहण गराइएको थियो ।
(ईमेजखबरबाट साभार)