पोखराबाट चार बालिकाको उद्वार

पोखरा, मंसिर २८ ।
पोखरामा जोखिमपूर्ण श्रममा लगाइएका ४ जना बालिकाको उद्धार गरिएको छ । पोखरा महानगरपालिकाको संयोजन तथा पोखरा उद्योग वाणिज्य संघ बालश्रम न्यूनीकरण कार्यक्रम, जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय र शक्ति समूहको समन्वयमा उनीहरुको उद्धार गरिएको हो ।

पोखरा पृथ्वीचोकस्थित बसपार्कमा रहेको मंगलबार अस्मिता सोलुखुम्बु सगरमाथा रेष्टुरेष्ट, मार्फा थकाली रेष्टुरेष्ट, सन्दीप होटल र हिमालयन थकाली गेष्ट हाउसबाट १४ वर्ष मुनिका ती बालिकाको उद्धार गरिएको थियो।

ती बालिकाको उचित संरक्षण र व्यवस्थापनका लागि आपत्तकालीन गृह कास्कीमा राखिएको छ। १४ वर्ष मुनिका बालबालिकालाई जोखिमपूर्ण श्रममा लगाए १ वर्ष कैद र ५० हजारसम्म जरिवाना वा दुवै सजाय हुने कानूनी व्यवस्था छ ।