डोटीमा पहिलोपटक अनलाइन सेवाबाट लालपुर्जा वितरण
डोटी, मंसिर ११ ।
जिल्ला मालपोत कार्यालय डोटीमा अनलाइन सेवाबाट लालपुर्जा अर्थात् जग्गाधनी प्रमाणपत्र दिन शुरु गरेको छ ।
सेवाग्राहीका अभिलेख कम्प्युटरकृत गरी सुरक्षित राख्ने उद्देश्यले अनलाइन सेवा शुरु भएको हो । उक्त सेवा शुरु भएपछि पहिलोपटक केआइसिंह गाउँपालिका–१ की कृष्णा शाहीलाई अनलाइनमार्फत जग्गाधनी प्रमाणपत्र प्रदान गरिएको मालपोत कार्यालय डोटीका प्रमुख प्रेमबहादुर माझीले बताए ।
उनले भने, “पहिलोपटक अनलाइनमार्फत सेवा शुरु र्गयौँ र पहिलो सेवाग्राही शाही हुनुभएको छ ।”
पहिलो सेवाग्राही भएकी शाहीसहित जिल्ला समन्वय समितिका संयोजक रामबहादुर ऐर र दिपायल सिलगढी नगरपालिका प्रमुख मञ्जु मलासीलाई दोसल्ला ओढाएर सम्मान गरेको मालपोत कार्यालयले जनाएको छ ।
अनलाइनबाट सेवा दिने डोटीको मालपोत कार्यालय देशभरिमै ९२ औँ सरकारी कार्यालय हो ।
सेवाग्राहीको सम्पूर्ण अभिलेख अनलाइन सेवाबाट शुरु गरिएको र यसलाई जुनसुकै मालपोत कार्यालयबाट पनि हेर्न सकिने भूमि व्यवस्थापन तथा अभिलेख विभागका निर्देशक यमप्रसाद सुवेदीले बताए ।
उनले भने, “अनलाइन प्रणालीमा लालपुर्जा राखिएपछि न हराउने डर, न चोरी हुने डर, कसैले झुक्याएर पनि कारोवार गर्न सक्दैन ।”
यतिमात्र नभई अनलाइनमा राखिएका आफ्ना कागजात सेवाग्राहीले तिर्नुपर्ने राजश्वबारे हिसाब गर्न सक्ने र कारोवार भएमा यसको जानकारी मोबाइलमा आउने व्यवस्था मिलाइएको छ ।(रासस)