जनजागरण आमा समूहको नवनिर्मित भवन उद्घाटन

 

पोखरा, पुस २६ ।

पोखराको विरौटामा रहेको जनजागरण आमा समूहको नवनिर्मित बहुद्धेस्यीय भवन उद्घाटन तथा दोश्रो साधारणसभा शनिबार सम्पन्न भएको छ ।

कूल १३ लाख, ८ हजार ७ सय १८ रुपैयाँको लागतमा समूहले निर्माण गरेको भवनको गण्डकी प्रदेशका सांसद रामजी बराल जीवनले उद्घाटन गरे । उद्घाटनपछि बोल्दै सांसद बरालले महिलाहरु उद्यमी बन्नुपर्नेमा जोड दिए । उनले सुखी नेपाली समृद्ध नेपालको नारा सफल पार्न प्रत्येक घरका नागरिक उद्यमी बन्न अग्रसर हुनुपर्ने भन्दै महिलाले नेतृत्व गरेका हरेक कामहरु सफल हुने धेरै उदहारण रहेको बताए । अहिले उद्घाटन गरिएको बहुद्धेस्यीय भवन निर्माणका लागि पनि महिला समूहले नेतृत्व गरेकाले समयमै सम्पन्न हुन सफल भएको उनको भनाई थियो । महिलाहरु चुलो चौकामा मात्र सिमित नरही उद्यममा पनि लाग्नुपर्नेमा उनको जोड थियो ।

सो अवसरमा बोल्दै पोखरा महानगरपालिका वडा नं १७ का वडा अध्यक्ष तीर्थराज अधिकारीले उज्यालो वडा बनाउने अभियान सञ्चालन गरिएको जानकारी दिए । अरु वडाको तुलनामा वडानं १७ को क्षेत्रफल ठूलो रहेको बताउँदै अधिकारीले खानेपानी, बाटोघाटो लगायत विकास निर्माणका काममै आँफूहरु केन्द्रित भईरहेको बताए ।

जनजागरण टोल विकास संस्थाका सचिव यम प्रसाद पौडेलले सम्पूर्ण टोलबासीको एकतामा धेरै महत्वपूर्ण विकासका कामहरु सहजै सम्पन्न गर्न सकिने विचार व्यक्त गरे । महिलाहरु परम्परागत सोच र मान्यताबाट माथि उठेर विकास निर्माणमा अग्रसर हुनुपर्ने उनको भनाई थियो ।

भवन निर्माण समितिका संयोजक देवि थापाले टोलमा कुनै कार्यक्रम गर्नुपरे बाटोघाटो र अर्काको जमिनमा बस्नुपर्ने बाध्यता हटेको भन्दै टोलबासी सम्पूर्णको आर्थिक सहयोग मार्फत भवन निर्माण सम्पन्न भएको बताईन । यस्तै आर्थिक शंकलन समितिका संयोजक विश्वास भण्डारीले टोलबासीको एकताकै कारण भवन निर्माण सम्भव भएको बताए ।

कार्यक्रममा भवन निर्माणका लागि आर्थिक सहयोग गर्ने दाताहरुलाई कदर तथा प्रमाणपत्र वितरण गरिएको थियो ।

आमा समूहका अध्यक्ष नन्दकुमारी गुरुङको सभाध्यक्षतामा भएको उक्त कार्यक्रममा उपाध्यक्ष भगवती रेग्मीले स्वागत मन्तव्य व्यक्त गरेकी थिईन भने कार्यक्रमको सञ्चालन सचिव दिपा शर्माले गरेकी थिईन । सो अवसरमा कार्यसमितिका सदस्यहरुले स्वागत गित समेत प्रस्तुत गरेका थिए ।

यसैबीच आमा समूहको दोश्रो साधारणसभाले कोषाध्यक्ष कल्पना पौडेल बरालले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन र सचिव दिपा शर्माले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन पारित गरेको छ ।