सोमबार देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना

 

काठमाडौं, भदौ ९ ।

पश्चिमी न्यूनचापीय वायुको प्रभावले सोमबार देशभर आंशिकदेखि सामान्य बदली रही अधिकांश स्थानमा हल्का तथा मध्यम वर्षा हुने अनुमान गरिएको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाकाअनुसार मनसुनको न्यूनचापीय रेखा औसत स्थानभन्दा केही दक्षिणतर्फ सरेकाले अवको तीन दिन देशका धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको हो ।

मनसुनसँगै स्थानीय प्रणाली पनि विकसित भएकाले मेघगर्जन, हावाहुरी र चट्याङसहित वर्षा हुने उक्त महाशाखाका मौसमविद् गंगा नगरकोटीले बताइन् । ‘यस समयमा छोटो अवधिमा भारी वर्षा पनि हुनसक्छ’–उनले भनिन् ।

महाशाखाले आगामी २४ घन्टाको मौसम पूर्वानुमान जारी गर्दैै मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना रहेकाले चट्याङबाट बच्न सतर्कता अपनाउन आग्रह गरेको छ । देशको पश्चिमी भागका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले यी स्थानमा यात्रा गर्दा सर्वसाधारणलाई सचेत रहन पनि अनुरोध गरिएको छ ।

सोमबार राति देशभर सामान्य बदली रही केही स्थानमा हावाहुरी चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको बताइएको छ ।

मंगलबार देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन, चट्याङ पर्नाका साथै वर्षा हुने र पश्चिमी भागका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । बुधबार पनि देशभर आंशिकदेखि सामान्य बदली रही धेरैजसो स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाको पछिल्लो विवरणअनुसार काठमाडौं उपत्यकाको न्यूनतम् तापक्रम १९.८ डिग्री र अधिकतम् तापक्रम २९.८ डिग्री सेल्सियस पुगेको छ । (रासस)