शुभकामना आमा समुहको अध्यक्षमा हिरा अधिकारी
पोखरा, भदौ १३ ।
पोखरा महानगरपालिका वडा नं. १७ घारीपाटनस्थित शुभकामना आमा समूहको १७ औं वार्षिक साधारण सभा एवम् नवौ अधिवेशनले हिरा अधिकारीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्य समिति निर्विरोध निर्वाचित गरेको छ ।
दुई बर्षे कार्यकालका लागि समूहको उपाध्यक्षमा कोकिला श्रेष्ठ, सचिवमा रन्जिता सुवेदी, सह–सचिवमा कृष्ण पराजुली, कोषाध्यक्षमा मिना द्वारे चयन भएका छन् । त्यस्तै समूहको सदस्यहरूमा सृजना खनाल, मिठु द्धारे, राधा कार्की, प्रमिला शर्मा, विमला भुजेल, ममता पौडेल, देवी न्यौपाने, जमुना सोराली रहेका छन् ।
अधिवेशनको उद्घाटन गर्दै समुहका पूर्वअध्यक्ष सुकुना गुरुङले आमाहरूको एकताको बलमा सामाजिक उत्तर दायित्व एवम् जिम्मेवारी समेतलाई अघि बढाउँदै समूह सफल बन्दै गएको बताए ।
नेपाल पर्यटन पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष हरि बाँस्तोलाले सामूहिक एकतामा नै बल हुने भन्दै सामाजिक क्षेत्रमा आमा समूहले सञ्चालन गरेका गतिविधि प्रशंसायोग्य भएको बताए ।
समाजसेवी नारायण श्रेष्ठले नजिकिदै गरेको हरितालिकाको शुभकामना व्यक्त गर्दै समाजका विकृति र विसंगतीको अन्त्यका लागि आमा समूह सकृयता आवश्यक रहेकोमा जोड दिए ।
कार्यक्रममा समाजका ७० बर्ष उमेर पुगेका एक दर्जन आमा बुवा र एसइई परीक्षामा उत्तिर्ण सात जना विद्यार्थी सहित समाजसेवी बैकुण्डलाल जि.सी र हिमालय बोर्डिङ स्कूलका पिन्सिपल डा. टेकनारायण पौडेललाई सम्मानपत्र र दोसल्लाले सम्मान गरिएको थियो ।
समूहका अध्यक्ष विचित्रा भुजेलको अध्यक्षतामा भएको कार्यक्रममा घारीपाटन टोल विकास संस्थाका अध्यक्ष देवेन्द्र क्षेत्री, समूहका पूर्वअध्यक्ष पार्वती खड्का लगायतले आमाहरु नेतृत्व विकाससँगै उत्पादनसँग जोडिनु पर्ने आवश्यक रहेको बताए ।
समूहका सचिव मिना के.सी.ले सञ्चालन गर्नुभएको कार्यक्रममा कोषाध्यक्ष मिना द्वारेले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको कार्यक्रममा सामूहिक दरभोज सहित नाचगान गरेका थियो । (रासस)