मजदूर दिवसमै माटोको ढिस्कोले पुरिएर म्याग्दीमा मजदूरको मृत्यु

पोखरा, बैशाख १७ ।
मे १ अर्थात विश्व मजदुर दिवस । देशैभरी आफ्ना हक अधिकारका लागि विभिन्न कार्यक्रम गरेर मजदुरहरुले दिवस मनाए । म्याग्दीमा काम गरिरहेका एक मजदुरको भने माटोको ढिस्कोले पुरिएर मृत्यु भएको छ ।

बर्दिया मधुवन नगरपालिका–२ ठाकुरद्वारका ३५ वर्षीया कालुराम थारु रहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । बेनी–दरवाङ सडकखण्डअन्तर्गत चुत्रेनीमा सडक विस्तारको काम गरिरहेको अवस्थामा सडक माथिबाट ढुङ्गासहित माटोको ढिस्को खसेर पुरिँदा उनको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय बेनी म्याग्दीबाट गएको प्रहरीको टोली र स्थानीयवासीले स्काभेटरको प्रयोग गरी माटो पन्छाएर थारुको शवलाई बाहिर निकालेको प्रहरीले जनाएको छ ।