थाइल्याण्डका सडकमा बाँदर आतंक, खान नपाएर भोकभोकै मर्न थाले

एजेन्सी, चैत २ ।
थाइल्याण्डमा कोरोना संक्रमण नियन्त्रणका लागि सार्वजनिक स्थलहरुमा भीडभाड नगर्न र धार्मिक स्थलहरुमा समेत नजान सूचित गरिएको छ ।
जसका कारण राजधानी बैंककलगायतका शहर सुनसान बन्दै जान थालेका छन । धार्मिक स्थल जाने कम हुन थालेपछि यसको असर भने त्यहां आश्रय बनाएका बाँदरहरुमा परेको छ ।
बाँदरहरु खानाको खोजीमा शहर पस्न थालेका छन् । बाँदरहरु सडकमा आउन थालेपछि सर्वसाधारणलाई हिंडडुलमा समस्या भएको छ ।
शहरमा बाँदर आतंक बढेपछि उनीहरुलाई खाना उपलब्ध गराउन सर्वसाधारणले सरकारसंग अपिल गरेका छन् । केही बाँँदर भने खानाको अभावका कारण मर्न थालेका छन् ।
थाइल्याण्डमा कोरोनाका कारण १ जनाको मृत्यु भएको छ भने ४६ जना संक्रमित भेटिएका छन् । ३५ जना उपचार पछि निको भएर घर फर्किसकेका छन् ।