आज वडादशैंको सातौं दिन : घरघरमा फूलपाती भित्र्याइँदै
काठमाडौं, असोज १८ ।
नेपालीहरुको महान पर्व वडादशैँको आज सातौं दिन फुलपाती, हिन्दू धर्मावलम्बीहरुले परम्पराअनुसार घरघरमा फूलपाती भित्रयाउँदै छन् ।
सप्तमीका दिन सबै नेपालीका घरघरमा उखु, अदुवा, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती र अशोकको फूल तथा अन्य नयाँ पालुवासमेत विधिपूर्वक फूलपाती भित्राइन्छ ।
आजकै दिन हनुमानढोकास्थित दशैंघरमा पूजारीसहित फूलपाती ल्याउने र भित्रयाउने चलन छ ।
फूलपाती गोरखाबाट धादिङको जीवनपुरसम्म मगर जातिका छ जना र त्यहाँबाट काठमाडौंको जमलसम्म छ जना ब्राह्मणले ल्याउने चलन छ ।
फूलपाती भित्रयाउन गुरुज्युको पल्टन, नेपाली सेना, नेपाल प्रहरी र निजामती सेवाका उच्चपदस्थ अधिकारीहरु, आशागुर्जा टोली, ब्यान्डबाजा, पञ्चेबाजा, सिङगारिएका कल्स्यौडीहरु र साँस्कृतिक नाचगानसहितको लावालस्कर हनुमानढोकाबाट जमल प्रस्थान गर्ने गर्छ । आज कालरात्री देवीको पूजा आराधना गर्ने गरिन्छ ।
घटस्थापनाका दिनदेखि दशैं शुरु हुने भएपनि दशैंको विशेष चहलपहल भने फूलपातीका दिनदेखि सुरु हुन्छ ।
फूलपातीदेखि पूर्णिमासम्म सरकारी कार्यालय पनि बन्द हुने भएकाले घरबाट टाढा रहेका व्यक्तिहरु मूलघरमा दुर्गा भवानीको टीका थाप्न जानेक्रम शुरु हुन्छ ।
(ईमेजखबरबाट साभार)