पोखरा ४ बाट कर संकलन

पोखरा, असोज २५ ।
पोखरा वडा नम्बर ४ बाट कर संकलन सुरु भएको छ । महानगरले वडा तहबाटै नागरिकलाई सेवा दिने घोषणा गरेपछि ४ नम्बर वडाले पनि संरचना तयार गरि बुधबारदेखि काम थालेको हो । नाता प्रमाणीत सहित, चारकिल्ला, आयश्रोत प्रमाणित, सम्पत्ति मुल्याकंन, करचुक्ता, अनलाइन ब्यक्तिगत घटना दर्ता, सरसफाई शुल्क, अंग्रेजी सिफारिस लगायतका काम वडाबाटै हुने वडाध्यक्ष शंकर बास्तोलाले बताए ।

‘स्थानीय सरकार बनेपछि जनतालाई तल्लो तहबाटै सेवा दिने हो । वडा सरकारले पनि आफ्ना जनतालाई अधिकतम सेवा वडाबाट दिनेछ, उनले भने–बुधबारदेखि केही काम सुरु भएको छ । अव सम्पत्ति कर पनि वडाबाटै लिनेछौं ।’

वडा कार्यालयको भवन निर्माणाधीन छ । ३२ लाख ५५ हजार रुपैयाँमा सम्झौता गरेर काम गरेपनि स्टिमेट गलत परेकोले अहिले रोकिएको वडाध्यक्ष बास्तोलाले बताए । नयाँ स्टिमेट गरेर पुनः काम सुरु गर्ने उनी बताउँछन् ।