पोखरामा कुकुरलाई खुला ठाउँमा दिसा–पिसाव गराए १५ हजारसम्म जरिवाना

पोखरा, असोज २२ ।
घरपालुवा कुकुरलाई जथाभावी दिसा–पिसाब गराउने कुकुरधनीलाई पोखरा महानगरले कारबाही गर्ने भएको छ । सार्वजनिक स्थल, सडक तथा खुला ठाउँमा कुकुरलाई शौच गराएको पाइएमा फोहरमैला व्यवस्थापन नियमावली अनुसार कारबाही गरिने महानगरको सरसफाइ शाखाका प्रमुख कल्पना बरालले बताइन् ।

कुनै कुकुरधनीले सार्वजनिक स्थलमा लगेर कुुकुरलाई शौच गराएको देखेमा गोप्य ढङ्गबाट महानगरका प्रतिनिधिलाई खबर गर्न या प्रमाण उपलब्ध गराउन उनले महानगरवासीसँग आग्रह गरे । पहिलो पटक एक हजार र पटक पटक शौच गराए १५ हजारसम्म जरिवाना गर्ने गरि नियमावली बनाइएको बरालको भनाई छ ।

महानगरले घरपालुवा कुकुरलाई आफ्नै घरको परिसरभित्र शौचको व्यवस्था मिलाउन र त्यसको उचित व्यवस्थापन गर्न कुकुरधनीलाई सचेत गराएको छ ।