हङकङकी प्रमुख कार्यकारी लामद्वारा विवादास्पद सुपुर्दगीसम्बन्धी विधेयक फिर्ता
एजेन्सी, भदौ १८ ।
हङकङकी प्रमुख कार्यकारी क्यारी लामले विवादास्पद सुपुर्दगीसम्बन्धी विधेयक फिर्ता लिने बताएकी छन् ।
उक्त विधेयक महिनौंदेखिको विरोध प्रदर्शनको मुख्य कारक बनेको थियो ।
बुधबार टेलिभिजन सम्बोधनमार्फत् उनले विरोध प्रदर्शनकाक्रममा प्रहरीले गरेको व्यवहारबारे छानबिनकाक्रममा दुईजना थप वरिष्ठ अधिकारी समावेश हुने पनि बताइन् ।
प्रदर्शनकारीहरूले प्रहरी दमनबारे छानबिन गरिनुपर्ने मागसमेत राखेका छन् ।
गएको सोमबारमात्र लामले हङकङको राजनीतिक संकट आफ्नै कारणले गर्दा चर्किएको भन्दै आफैंलाई दोष दिँदै गरेको ‘अडिओ रेकर्ड’ सार्वजनिक भएको थियो ।
गएको अप्रिलमा ल्याइएको उक्त विधेयकमा संदिग्ध अपराधीहरूलाई मुख्य भूमि चीन सुपुर्दगी गर्न मिल्ने व्यवस्था गरिएको थियो ।
बढ्दो विरोध प्रदर्शनपछि जुनमा लामले उक्त विधेयक निलम्बित भएको जनाएपनि त्यसलाई फिर्ता नै भने लिएकी थिइनन् ।
तर, प्रदर्शनकारीहरुले उक्त विधेयक पूर्णरूपमा फिर्ता लिइनुपर्ने भन्दै सडक छाडेका थिएनन् । हङकङमा पूर्ण प्रजातान्त्रिक अधिकारहरू हुनुपर्ने उनीहरुको थप माग छ ।
हङकङमा लगातार १४ हप्तायतादेखिको सरकारविरोधी प्रदर्शनका कारण जनजीवन अस्तव्यस्त छ । अर्थतन्त्र चौपट भएको छ ।