सामाजिक संजालमा टिप्पणी गर्दा जेल हाल्ने कानुन ल्याईनु सर्वसत्तावादको पूर्वाभ्यास : डा. शेखर

 

काठमाडौं, पुस २७ ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले आमसंचार माध्यम र सामाजिक सञ्जाललाई नियमन गर्ने नाममा प्रस्ताव गरिएको सुचना प्रविधि विधेयक लोकतन्त्र तथा विधीको शासनको विश्वब्यापी सिद्धान्त र मान्यता विपरित रहेको बताएका छन् ।

आज प्रेस विज्ञप्ती जारी गर्दै डा. कोइरालाले संविधानले ग्यारेण्टी गरेको नागरिकका बिचार अभिब्यक्ती स्वतन्त्रता तथा प्रेस स्वतन्त्रता कुण्ठित गर्ने मनसायले ल्याउँन लागेको यो विधेयक कुनैपनी हालतमा स्विकार नगर्ने उल्लेख गरेका छन् ।

उनले सत्ता र शक्तिलाई लिखित, मौखिक वा सामाजिक संजालमा टिप्पणी गर्दा लेखक, पत्रकार, कार्टुनिष्ट, व्यङ्ग्यकार र सर्वसाधारण नागरिकलाई जेल हाल्ने कानुन ल्याईनु सर्वसत्तावादको पूर्वाभ्यास रहेको बताएका छन् ।

जनआन्दोलनको जगमा स्थापित संघिय लोकतन्त्रिक गणतन्त्र कमजोर हुने काम जो कोहीबाट भए पनी त्यसको सशक्त प्रतिकार नेपाली कांग्रेसले गर्छ विज्ञप्तिमा भनिएको छ नागरिक समाज, बुद्धिजिवी, पेशागत संघ र संस्थालगायत सम्पुर्ण नागरिकहरु यो विधेयकका बिरुद्धमा एक भएर उभिनुको बिकल्प छैन ।

डा. कोइरालाले यो विधेयक विपरित काम भएमा विश्वको जुनसुकै कुनाबाट पनि मुद्दा चलाउन सक्ने हुँदा प्रमाणिकरणको काम विदेशी कम्पनीले पनि पाउने भएपछि नेपाली तथ्यांकमा विदेशी कम्पनीको हालिमुहाली हुनसक्ने अवस्था पनि उत्तिकै रहेको आशंका गरेका छन् ।

उनले शाही शासनको समयमा हल्ला चलेको विधयेक नै अहिले ल्याइएको झैं देखिएकाले यो विधेयक विनासर्त तत्काल फिर्ता लिएर सरोकारवालाहरुसँग भरपुर छलफल र परामर्श गर्न सरकारसँग आग्रह गरेका छन् ।
(ईमेजखबरबाट साभार)