सांसदको गुनासो–‘राष्ट्रियसभामाथि प्रश्न किन ?’
काठमाडौं, माघ २२ ।
संघीय संसदको एउटा अंगका रुपमा रहेको राष्ट्रियसभाको काम नभएको भन्दै गलत प्रचार गरिएकामा सभाकै एक सदस्यले गुनासो गरेका छन् ।
नेपालको संविधानले नै माथिल्लो सदनलाई विशेष भूमिका दिइएको भएपनि यसको प्रभावकारिता नभएको भन्दै विभिन्न कोणबाट प्रश्न उठाइएकामा सांसदले नै ‘किन त्यस्तो भएको हो ?’ भन्ने प्रश्न गरे ।
नेपाली कांग्रेसका सांसद जितेन्द्रनारायण देवले राष्ट्रियसभाको हैसियतमाथि नै प्रश्न उठ्ने गरेकाले सभालाई थप प्रभावकारी बनाउन माग गरे ।
उनले सभाले गरेका काम–कारबाही नियमितरुपमा पत्रकार सम्मेलन गरी आमजनसमुदायलाई जानकारी दिनुपर्ने बताए ।
राष्ट्रियसभाको संवैधानिक हैसियत र काम–कारबाहीबारे पुनः मूल्यांकन गरी थप प्रभावकारी बनाउन आग्रह गर्दै उनले सबै समितिलाई पर्याप्त काम उपलब्ध हुनेगरी राष्ट्रियसभा नियमावलीमा सुधार गर्न माग गरे ।
यस्तै, उनले राष्ट्रियसभाको भूमिकाबारे सातओटै प्रदेशमा विचार गोष्ठी गर्नुपर्नेमा पनि जोड दिए ।
वडाध्यक्षको हत्याको छानबिन गर्न माग
कांग्रेसका सांसद बद्री पाण्डेले सोमबार अछामका एक वडाध्यक्षको हत्या भएको भन्दै सो घटनाको उचित छानबिन गर्न माग गरे ।
जनप्रतिनिधि कार्यक्षेत्रभित्र असुरक्षित हुने अवस्थाले शान्ति–सुरक्षाको अवस्था कति भयावह रहेको छ भन्ने देखाएको भन्दै उनले सरकारसँग जनताले अनुभूत गर्नेगरी शान्ति–सुरक्षा र अमनचयनको व्यवस्था गर्न माग गरे ।
अछामको पञ्चदेवल विनायक नगरपालिका–२ का अध्यक्ष पदमबहादुर धामीको हत्या गरिएको अवस्थामा मंगलबार बिहान शव फेलापरेको थियो ।
वडाध्यक्ष धामीको घरदेखि २०० मिटर परको भैंसीगोठमा उनको शव फेलापरेको सांसद पाण्डेले जानकारी गराए ।
४० वर्षीय धामी नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वा्चित भएका थिए । हत्या कसले र किन गरेको भन्ने विषयमा खुल्न सकेको छैन ।
वर्तमान सरकार गठन भएपछि जनताले राजनीतिक स्थीरता, शान्ति–सुरक्षा र अमनचयन कायम हुने अपेक्षा गरेको भएपनि त्यस्तो नभएको भन्दै उनले अपराधीलाई कानुनको दायरामा ल्याउन राज्यसंयन्त्र चुकेको आरोप लगाए ।
‘कोरोना’जस्तै भ्रष्टाचार रुपी ‘भाइरस’ फैलियो’
समाजवादी पार्टीका रामप्रीत पासवानले छिमेकी देश चीनमा फैलिएको महामारी ‘नोबेल कोरोनाभाइरस’ले महामारी फैलिएको भन्दै त्यसबाट सुरक्षित हुने उपायबारे सरकारले चालेको कदमका बारेमा पनि आमरुपमा जानकारी दिन आग्रह गरे ।
उनले कोरोनाभाइरसजस्तै नेपालमा भ्रष्टाचाररुपी भाइरस फैलिएको भन्दै त्यसको नियन्त्रणका लागि कडा कदम चाल्नुपर्नेमा जोड दिए ।
उनले गोकर्ण रिसोर्ट भाडा प्रकरण, मेलम्ची खानेपानी आयोजनालगायत ठेकेदार छनोटमा अनियमिता भएको भन्दै कवितामार्फत् नै सरकारको व्यंग्य गरे ।
नेकपाका सांसद रामलखन चमारले सरकारले राष्ट्रिय जनगणना गर्न लागेको सन्दर्भमा दलित तथा अल्पसंख्यक समुदायको उचित तथ्यांक आउने गरी प्रबन्ध गर्न माग गरे ।
नेकपाका सांसद रामनारायण बिँडारीले सरकारको प्रमुख सूचनादाताका रुपमा रहेको राष्ट्रिय अनुसन्धान विभाग प्रभावकारी नभएको भन्दै गुनासो गरे ।
‘नेपाल–भारतबीच भएको १९५० को सन्धि, सुगौली सन्धिको आधिकारिक दस्तावेज एवं पुरातात्विक महत्वका पुराना मूर्ति कहाँ छन् ?’ भन्ने प्रश्न गर्दै उनले सरकारको गुप्तचरी निकायले आफ्नो भूमिका पूरा नगरेकोमा आपत्ति प्रकट गरे ।
उनले नेपालको सरकारी सेवामा रहेका कर्मचारीले विदेशी मुलुकका नागरिकता लिएर राष्ट्रिय गोपनीयता चुहाएको भन्दै त्यस्ता कर्मचारीलाई कारबाही गर्न माग गरे ।
सांसद बिँडारीले सरकारी सेवामा बसेकाले विदेशमा गएर जागिर खान नपाउने कानुनी व्यवस्था गर्न माग गरे ।
फरक प्रसंगमा उनले सहरी क्षेत्रका भूकम्पपीडितले घर तथा आवास निर्माण गर्न नपाएको भन्दै टेको लगाएका घर तथा आवास पुनःनिर्माणमा ध्यान दिन सरकारको ध्यानकर्षण गराए ।
उनले सरकारले भूकम्पपीडितलाई दिइँदै आएको रु तीन लाख अनुदानले सहरी क्षेत्रमा कुनैपनि घर तथा आवास निर्माण हुन नसक्ने भन्दै समस्याको उचित निरुपण गर्न आग्रह पनि गरे । (रासस)