सरकार यतीसँग सती गयोः सांसद डा. पन्त

 

काठमाडौं, माघ २९ ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकी सांसद डा. डिला संग्रौला पन्तले सरकार यतीसँग सती गएको आरोप लगाएकी छिन् ।

बुधबार प्रतिनिधिसभा बैठकमा पन्तले नीतिगत भ्रष्टाचार गरी सरकारले यती होल्डिङ्स कम्पनीलाई नेपाल ट्रष्टको जग्गा दिएको भन्दै संसदमा जवाफ दिन प्रधानमन्त्रीको ध्यानाकर्षण गराइन् ।

मुलुकमा यती आतंक मच्चाइएको र यो लज्जाको विषय भएको पनि उनले बताइन् । पन्तले भनिन्, ‘यती समूहलाई राज्यको सम्पत्ति जिम्मा लगाउनु सरकारको नीतिगत भ्रष्टाचार हो भन्ने प्रष्ट छ । गोकर्ण, ताहचल, दरबारमार्गको दुई हजार सात सय ९९ रोपनी जग्गा यतिलाई दिएको छ । जसले राज्यलाई ५ अरब नोक्सानी भयो ।’

पाथीभराको जग्गा सित्तैमा यतीलाई किन दिइयो भन्दै उनले, ‘शिवपुरीको जग्गा वार्षिक ४० हजारमा किन दिइयो ? यतीसँग सती जानु सरकार के कारणले हो ? एउटा ब्यापारीक समूहलाई राज्यको सम्पत्तिको जिम्मा लगाउनु के कारणले हो, प्रधानमन्त्रीको जवाफ चाहन्छु’ भनिन् ।

ललितानिवास जग्गा प्रकरणमा सरकारले आफ्ना मान्छेलाई उन्मुक्ति दिएको आरोप लगाउँदै उनले फरक विचारकालाई जेल पठाउन खोजिएको र त्यसैको विरोधमा प्रतिपक्ष दलले आन्दोलन गरेको बताइन् ।

कर्णालीमा सिटामोल अभावले ९ जनाको मृत्यु भएको, महंगी बढेको, चीनमा नेपाली उद्धारको याचना गरिरहेको तर प्रधानमन्त्री बाँसुरी बजाउनमै व्यस्त रहेको भन्दै उनले आलोचना गरिन् ।
(ईमेजखबरबाट साभार)