सभापति देउवाद्वारा दुःख व्यक्त
काठमाडौं, फागुन २ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रियसभाका सांसद एवं पार्टीका महाधिवेशन प्रतिनिधि दुर्गाप्रसाद उपाध्यायकोे निधनप्रति दुःख व्यक्त गरेका छन् ।
क्यान्सर रोगबाट पीडित सांसद उपाध्यायको उपचारका क्रममा शुक्रबार निधन भएको हो ।
सभापति देउवाले शुक्रबार शोक वक्तव्यमार्फत् उनको आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका छन् ।
सांसद उपाध्यायको निधनबाट पार्टीलाई अपूरणीय क्षति पुगेको बताउँदै सभापति देउवाले पार्टी र आफ्नो व्यक्तिगततर्फबाट श्रद्धाञ्जलि अर्पण गरेका छन् ।
उनले सांसद उपाध्यायको निधनको खबरले दुखित र स्तब्ध भएको उल्लेख गर्दै उपाध्यायले नेपालको लोकतान्त्रिक आन्दोलन र पार्टीको संगठनमा सक्रिय योगदान र्पुयाएको बताएका छन् ।
वि.सं. २०२६ मा जन्मिएका उपाध्याय वि.सं. २०४६ को जनआन्दोलनदेखि कांग्रेसमा सक्रिय रहँदै आएका थिए ।
वि.सं. २०५४ को स्थानीय निर्वाचनमा रुपन्देहीको साविक मधुवनी गाविसमा उनी उपाध्यक्ष पदमा निर्वा्चित भएका थिए ।
कांग्रेसको १२औं र १३औं महाधिवेशनमा उपाध्याय दुई कार्यकाल क्षेत्रीय सभापतिसमेत थिए ।
वि.सं. २०७४ मा उनी कांग्रेसका तर्फबाट प्रदेश नम्बर–५ बाट राष्ट्रियसभाको सदस्यमा निर्वा्चित भएका थिए । (रासस)