सत्तारुढ नेकपा बैठकमा प्रदेशगत प्रतिवेदन प्रस्तुत

 

काठमाडौं, माघ १७ ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटीको जारी दोस्रो पूर्ण बैठकको तेस्रो दिन प्रदेश अध्यक्षबाट ‘रिपोर्टिङ’ सुरु भएको छ ।

पार्टी एकतापछि सम्बन्धित प्रदेशमा भएका काम र गतिविधिबारे आफ्नो प्रतिवेदन दिन थालिएको नेकपाका प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिए ।

यही माघ १५ गतेदेखि सुरु भएको सो बैठकमा अध्यक्षद्वयको राजनीतिक प्रतिवेदन, महासचिवको सांगठनिक प्रतिवेदन, विधान संशोधन प्रस्तावबारे सदस्यबीच १५ समूहमा विभाजन भइ छलफल सकिएपछि प्रदेशको रिपोर्टिङ सुरु भएको हो ।

बैठक प्रदर्शनीमार्ग्स्थित राष्ट्रियसभागृहमा जारी छ ।

बैठकमा समूहबाट आएका टोली नेताको प्रस्तुति र नेतृत्वको जवाफ दिन यही माघ १९ गतेको समय निर्धारण गरिएको छ ।

बैठकमा सचिवालय र स्थायी कमिटीका निर्णयमाथि छलफल र अनुमोदनको कार्यसूची पनि छ ।

बैठकले समसामयिक प्रस्ताव पनि पारित गर्नेछ । (रासस)