संस्कारयुक्त राजनीतिबाट मात्र परिवर्तन सम्भव छः राष्ट्रियसभाका अध्यक्ष

 

काठमाडौ, फागुन ३ ।

राष्ट्रियसभाका अध्यक्ष गणेश तिम्सिनाले संस्कारयुक्त राजनीतिबाट मात्र परिवर्तन सम्भव हुने बताएका छन् ।

नेपाली विद्यार्थीलाई छात्रबृत्ति दिन नेपालस्थित पाकिस्तानी दूतावासले आज काठमाडौंमा गरेको कार्यक्रममा उनले परिवर्तन संस्थागत गर्न सबै राजनीतिक दल एक हुनु पर्ने बताए ।

अध्यक्ष तिम्सिनाले शैक्षिक चेतनाबाट मात्र विकास सम्भव हुने भन्दै गुणस्तरिय र व्यवहारिक शिक्षा अहिलेको आवश्यकता भएको औल्याए ।

उनले पाकिस्तान सरकारबाट नेपालका ग्रामीण क्षेत्रका विद्यालयमा अध्ययनरत विद्यार्थीको शैक्षिक विकासकालागि प्रदान गरिएको छात्रवृत्तिले शैक्षिक क्षेत्रमा महत्वपूर्ण सहयोग पुगेको बताए ।

कार्यक्रममा नेपालका लागि पाकिस्तानका राजदूत डा मजहर जावेदले शिक्षाबाट वन्चित बालबालिकाको शैक्षिक जागरणको लागि पाकिस्तान सरकारले निरन्तर सहयोग गरेको बताए ।

उनले आगामी वर्षदेखि छात्रबृत्तिको संख्यालाई दोब्बर बनाउने जानकारी दिए । नेपाल पाकिस्तान सांस्कृतिक संम्बन्ध परिषदका अध्यक्ष हिमालय शम्शेर जबराले छात्रबृत्तिलाई ग्रामीणमुखी बनाउन सुझाव दिए ।

पाकिस्तानले नेपालका विभिन्न दूर्गम क्षेत्रका विद्यालयका ५ सय विद्यार्थीलाई विगत आठ वर्षदेखि छात्रवृत्ति प्रदान गर्दै आएको छ ।
(ईमेजखबरबाट साभार)