व्यवसायीहरु अहिले पनि द्वन्द्धकालमा जस्तै पीडामा छन् : अध्यक्ष अधिकारी
पोखरा, असोज १४ ।
पोखरा उद्योग वाणीज्य संघका अध्यक्ष दामु अधिकारीले व्यवसायीहरु अहिले पनि द्वन्द्वकालको स्थिती भन्दा नाजुक अवस्थाबाट गुज्रिरहेको बताएका छन् ।
कपडा व्यवसायी एशोसियसन कास्कीले नेपालीहरुकोे महानपर्व बडादशै, शुभदिपावली, नेपाल सम्वत तथा छठपर्वको पावन अवसरमा शुभकामना आदान प्रदान गर्न आयोजना गरेको कार्यक्रममा बोल्दै अधिकारीले उक्त कुरा बताएका हुन् ।
अध्यक्ष अधिकारीका अनुसार व्यवसायीहरु राज्यको कर लगायतका कयौन आतंकहरुबाट पीडित छन् । नीजी क्षेत्रको साथ विना मुलुकको विकास र समृद्धि सम्भव नभएको तर्क गर्दै अध्यक्ष अधिकारीले कमजोर तथा भ्रष्ट कर्मचारी प्रशासनले अराजकतालाई प्रशय दिईरहेको समेत बताए । कर्मचारी भ्रष्ट भएकै कारण मुलुकमा गतल थीति बसेको उनको तर्क छ ।
असल र सक्षम नेतृत्वको अभाव र भ्रष्ट कर्मचारीका कारण मुलुकको गौरवका रुपमा रहेका कयौन उद्योग व्यवसायहरु धारासायी बनेको अध्यक्ष अधिकारीले उल्लेख गरे । मुलुकमा लगानीका कयौन सम्भावनाहरु रहेको भएपनि लगानी सुरक्षणको अवस्था नरहेकाले वैदेशिक लगानी भित्रन नसकेको र मुलुक भित्रका व्यवसायीहरुले पनि ढुक्कका साथ लगानी गर्न नसकिरहेको उनले बताए । पोखरामा पनि व्यवसाय संचालनका थुप्रै समस्या तथा चुनौतीहरु रहेको बताउँदै उनले त्यसको समाधानका लागी सम्बन्धित पक्षहरुसंग निरन्तर छलफल तथा समन्वय गरिरहेको बताए ।
कार्यक्रममा सहभागी व्यवसायीहरुले व्यवसायीक एकता र विद्यमान समस्याहरुको समाधानमा सार्थक कदम चाल्न आग्रह गरेका थिए ।
एशोसियसनका अध्यक्ष विष्णु प्रसाद तिमिल्सीनाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन महासचिव धर्ममानसिंह भण्डारीले गरेका थिए ।