विजय मिश्रविरुद्ध बाँस्कोटाले दर्ता गरे गाली बेइज्जती मुद्दा

 

काठमाडौं, फागुन १६ ।

पूर्व सूचना प्रविधि तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले विजय मिश्रविरुद्ध गाली बेइज्जती मुद्दा दर्ता गराएका छन् ।

काठमाडौं जिल्ला अदालतमा उनले शुक्रबार मिश्रविरुद्ध मुद्दा दायर गरेका हुन् । मिश्रले सेक्युरिटी प्रेस खरिद प्रकरणमा बाँस्कोटाको ७० करोड कमिसन मागेको भन्दै वार्तालाप गरेको अडियो सार्वजनिक गरेका थिए ।

सोही कारण बाँस्कोटाले नैतिकताका आधारमा भन्दै राजीनामा दिएका थिए । ‘मविरुद्ध लगाइएको झुटा लाञ्छना र गाली बेइज्ज्तीको विरूद्धमा मैले आज आफ्ना प्रतिनिधिमार्फत जिल्ला अदालत, काठमाडौंमा न्याय माग गदै मुद्दा दायर गरेको जानकारी सबैमा गराउँदछु’ बाँस्कोटाले मुद्दा दर्ता गराएपछि आफ्नो फेसबुक पेजमा लेखेका छन् ।

बिहीबारमात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले बाँस्कोटाको बचाउ गरेका थिए । बिहिबार काठमाडौमा आयोजित वाग्मती प्रदेशस्तरीय अगुवा कार्यकर्ताको प्रशिक्षण कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले बाँस्कोटाले भ्रष्टाचार गरेकाले नभइ प्रश्न उठेकाले राजीनामा दिएको दाबी गरेका थिए ।
(ईमेजखबरबाट साभार)