वडाध्यक्ष अनशन प्रकरण : कांग्रेसद्वारा १५ गते चितवन बन्दको घोषणा

 

काठमाडौं, फागुन १२ ।

नेपाली कांग्रेस चितवनले आगामी फागुन १५ गते चितवन बन्दको घोषणा गरेको छ ।

चितवनको माडी नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष कृष्णप्रसाद पौडेलले उठाएको मागप्रति ऐक्यवद्धता जनाउँदै उनको जीवन रक्षाका लागि दबाव दिने उदेश्यले चितवन बन्द लगायतका कार्यक्रम कांग्रेसले सार्वजनिक गरेको हो ।

माडीको बाँदरझुलादेखि अमेलियासम्मका सुकुम्बासीहरुको समस्या समाधान लगायतका ७ सूत्रिय माग राखेर ६ दिनदेखि वडाध्यक्ष पौडेल आमरण अनशनमा बस्दा समेत समस्या समाधानका लागि राज्य गम्भीर नभएको आरोप कांग्रेसले लगाएको छ ।

६ दिनदेखि आमरण अनशन बसेका वडाध्यक्ष पौडेलको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि सोमबार बिहान भरतपुर अस्पतालमा भर्ना गरिएको छ । विभिन्न माग राख्दै उनी फागुन ७ गतेदेखि अनशन बसेका थिए ।

नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले सोमबार एक विज्ञप्ती जारी गर्दै पौडेलको जीवन रक्षाका लागि दबाव दिन बन्द लगायतका कार्यक्रम सार्वजनिक गरिएको जनाएका छन् ।

वार्ताको माध्यमबाट समस्याको समाधान खोज्नु पर्ने माग कांग्रेसको छ । कांग्रेसले सार्वजनिक गरेको घोषित कार्यक्रम अनुसार मंगलबार जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिने, बुधबार साँझ ६ बजे नारायणगढको लायन्स चोकदेखि पुल्चोकसम्म मसाल जुलुस प्रदर्शन गर्ने र बिहीबार चितवन बन्द गर्ने उल्लेख छ ।
(अनलाइनखबरबाट साभार)