राष्ट्रियसभा बैठक भोलि पनि बस्ने

 

काठमाडौं, चैत ६ ।

राष्ट्रिय सभाको बैठक भोलि पनि बस्ने भएको छ । सरकारले २५ जनाभन्दा बढी सामूहिक भेटघाटमा प्रतिबन्ध लगाएका कारण संसदको बैठकसमेत रोक्नुपर्ने माग उठिरहेका बेला राष्ट्रियसभाको बैठक भोलिका लागि पनि बोलाइएको छ ।

हालसम्म संसद स्थगन गर्ने निर्णय नभएका कारण भोलिका लागि बैठक आह्वान गरिएको राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाको सचिवालयले जनाएको छ ।

बिहीबार भने राष्ट्रियसभा सदस्यको तापक्रम जाँचेर मात्र बैठकमा प्रवेश दिइएको छ ।

शुक्रबार प्रतिनिधिसभाको बैठक पनि बोलाइएको छ । संसद स्थगन गर्ने विषयमा सभामुख अग्निप्रसाद सापकोटाले बिहीबार दिउँसो राजनीतिक दलहरुसँग परामर्श गरेका छन् ।

संसदीय समितिलाई अप्ठेरो !

बिहीबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा २५ जना भन्दा बढी उपस्थित भएकै कारण स्थगित भएको छ । ४५ मिनेटसम्म बसेको बैठक सरकारले दिएको निर्देशन विपरीत भएको भन्दै सांसदहरुले निरन्तर प्रश्न उठाएपछि सभापति शशी श्रेष्ठले स्थगित गरेकी हुन् ।

बिहीबार नै प्रतिनिधिसभाकै कानुन न्याय तथा मानव अधिकार समितिको पनि बैठक बस्यो । २५ जना भन्दा कम उपस्थिति भएका कारण बैठक स्थगित नगरिएको समिति सभापति कृष्ण भक्त पोखरेलले जानकारी दिए ।

संसद नरोक्ने प्रस्ताव

नेकपा सांसद विजय सुब्बाले संसद बैठक स्थगित गरे पनि संसदीय समितिहरुको बैठक नरोक्न प्रस्ताव गरेका छन् । ‘सरकारका कामकारबाहीबारे खबरदारी गर्ने र जनताको आवाज राख्ने ठाउँ बन्द गर्न हुन्न । बरु २५ भन्दा कम बसौं तर, मिनी संसद नरोकौं’ उनले भने ।

मानव अधिकार समितिका सभापति पोखरेलले संसदीय समितिमा २५ जना भन्दा कम उपस्थित भएर बैठक चलाउन सकिने बताए ।
(अनलाइनखबरबाट साभार)