रवीन्द्र र करणको एउटै स्वर–पूर्वाधार बनाउँदै फड्को मार्छाै

पोखरा, मंसिर ६ ।
कास्की क्षेत्र नं २ मा वाम गठबन्धनका प्रतिनिधि सभा र प्रदेश सभाका साझा उम्मेदवारहरुले देशमा स्थिरता र विकासका लागि वामपन्थीको विकल्प नभएको बताएका छन् । उनीहरुले निर्वाचनपछि विकासका लागि आवश्यक पूर्वाधारहरु बनाउँदै समृद्धि र स्थिरतातर्फ लाग्ने प्रतिवद्धतासमेत जनाए ।
मंगलबार पोखरा–२० का कुरगाउँ, आटीघर, मोरिया, मौजा आदि क्षेत्रमा घरदैलो र कोणसभा गर्दै उनीहरुले यस्तो बताएका हुन् । कास्की २ प्रतिनिधिसभाका उम्मेदवार रवीन्द्र अधिकारीले मौजालाई पोखरासँग जोड्न पक्की बाटो बनाउने प्रतिवद्धता गरे । अबको २० वर्ष निर्वाचन क्षेत्र परिवर्तन नहुने विश्वास दिलाउँदै उनले मौजामा सबै विकासका पूर्वाधार पु¥याउने बताए ।
कास्की २ कका उम्मेदवार राजकाजी गुरूङ ‘करण’ले पर्यटन र कृषिकै माध्यमबाट यो क्षेत्रको विकास सम्भव भएको बताए । उनले भने, ‘बाख्रा, माछा र तरकारी आदिका लागि यो क्षेत्र उपयुक्त छ । होमस्टे प्रवद्र्धन गरी स्वदेशी र विदेशीलाई समेत आउने वातावरण बनाउन सकिन्छ ।’
एमाले नेता सोमनाथ अधिकारी ‘प्यासी’ले धान सप्रिदा एक वर्ष खान पुगेजस्तै वाम गठबन्धनले जिते ५ वर्षमै उल्लेख्य प्रगति हुुने बताए । उनले अबको विकासको भिजन वामपन्थीसँग मात्र भएको जिकिर गरे ।
स्थानीय चित्रबहादुर गुरुङले सडक कच्ची भएकैले छोराछोरी पोखरा बस्दा गाउँमा बूढाबूढीमात्र बस्नुपरेको दुखेसो सुनाए । उनले भने, ‘स्थायी सरकार भए, बाटो, पूल भए हाम्रो गाउँको मुहार फेरिन्थ्यो ।’
वाम गठबन्धनकी समानुपातिक उम्मेदवार प्रभा अधिकारी कोइरालाले मुलुककै कायापलट र महिला अधिकारका लागिसमेत कम्युनिस्टको विजय आवश्यक भएको बताइन् ।