म दोषी छैन, म भ्रष्टाचारी होइन : नेता नेपाल

 

विराटनगर, माघ २४ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले ललिता निवासको जग्गा प्रकरणमा आफू दोषी नरहेको प्रष्टीकरण दिएका छन् ।

शुक्रबार विराटनगर विमानस्थलमा सन्चारकर्मीहरुसँग कुरा गर्दै उनले आफू प्रधानमन्त्री हुँदा कुनै नयाँ मोही बनाउने र मोही दिने निर्णय नभएको दाबी गरे ।

‘म दोषी छैन । म अपराधी होइन । म भ्रष्टाचारी होइन’–उनले भने–‘म भ्रष्टाचार नगर्ने र गर्न पनि नदिने मान्यताको मान्छे हुँ ।’

नेता नेपालले बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा दोषी, अपराधी, भ्रष्टाचारी, अनुचित काममा लागेका जोसुकै व्यक्ति भएपनि उम्कन नपाउने बताए ।

ललिता निवास जग्गा प्रकरणमा पार्टीगतरुपमा कसैलाई फसाउन खोजेकोजस्तो भने आफूलाई नलागेको उनको धारणा छ ।
(ईमेजखबरबाट साभार)