मुस्ताङमा पाँचौं पटक हिमपात, गाडी र हवाइ उडान बन्द, छैन बिजुली

 

मुस्ताङ, चैत २ ।

हिमाल पारीको जिल्ला मुस्ताङमा शनिबार दिउँसोदेखि परेको हिमपातका कारण जनजीवन प्रभावित भएको छ ।

दिउँसो २ बजेबाट लगातार हिउँ परेपछि यहाँका अधिकांश क्षेत्र हिउँले ढाँकिएका छन् ।

मुस्ताङको सदरमुकाम जोमसोममा डेढ फिट हिउँ जमेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी बेदप्रसाद अर्यालले जानकारी दिए ।

उनका अनुसार उपल्लो मुस्ताङलगायतका क्षेत्रमा भने तीन फिटसम्म हिउँ जमेको छ ।

हिउँसँगै जोमसोम बजारमा बिजुलीको खम्बा ढलेका कारण यहाँ हिजोदेखि नै विद्युत् आपूर्ति बन्द भएको छ ।

जोमसोम विमानस्थलमा डेढ फिट हिउँ जमेका कारण आज पोखराबाट कुनै पनि उडान हुन नसकेको प्रमुख जिल्ला अधिकारी अर्यालले जानकारी दिए ।

आज दिनभर हिउँ नपग्लिए भोलि भने सुरक्षाकर्मीको सहयोगमा हिउँ पन्छ्याएर विमानस्थल नियमित गराउने तयारी गरिएको उनले बताए ।

हिमपातसँगै जोमसोम भित्रने नाका घाँसा र म्याग्दीको गुइँठे तातोपानीमा हिजोदेखि नै बाटो अवरुद्ध भएपछि सवारी साधन रोकिएका छन् ।

मुस्ताङमा यस वर्ष पटक–पटक हिमपात भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना मुस्ताङका रेञ्जर धनु गुरुङले जानकारी दिए ।

यसवर्ष मुस्ताङमा पाँचौं पटक हिउँ परेको जानकारी गराउँदै उनले छ वर्षको अन्तरालमा धेरै हिउँ परेको अनुभव सुनाए ।

हिमपातका कारण अन्नपूर्ण चक्रिय पदमार्ग अन्तर्गत मुस्ताङ निस्कने थोराङपास पनि बन्द भएको छ ।

हिमपातका कारण खेतीलाई राम्रै गरे पनि टुसाउँदै गरेका बोट वृक्षलाई भने क्षति र्पुयाएको ठिनी गाउँका मुखिया तिकप्रसाद थकाली बताउँछन् । रासस