मुलुकभर ८० प्रतिशत रोपाइँ सम्पन्न, गण्डकी प्रदेशमा ८४.५६ प्रतिशत रोपाइँ

 

काठमाडौं, साउन १४ ।

मुलुकभर हाल सम्म ८० प्रतिशत रोपाइँ सम्पन्न भएको छ । कृषि विभाग अन्तर्गतको बाली तथा कृषि जैविक विविधता संरक्षण केन्द्रले सार्वजनिक गरेको प्रतिवेदन अनुसार मुलुकभर गत आइतबार सम्ममा ८० दशमलव १८ प्रतिशत रोपाइँ सम्पन्न भएको हो ।

गत वर्षको तुलनामा यो वर्ष रोपाइँमा १.१२ प्रतिशतले कमी आएको छ । गत आर्थिक वर्षमा मुलुकभर ८१.३१ प्रतिशत रोपाइँ भएको थियो । मुलुकभर यो वर्ष हाल सम्म करीब ११ लाख हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको छ ।

कुल खेतीयोग्य जमीन मध्ये १० लाख ९९ हजार ८ सय ६३ हेक्टरमा रोपाइँ सम्पन्न भएको कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयले जनाएको छ । यो कुल खेतीयोग्य जमीनको ८०.१८ प्रतिशत हो । गत वर्षको तुलनामा यो १.१२ प्रतिशतले कम हो । गत आर्थिक वर्षमा मुलुकभर ८१.३१ प्रतिशत रोपाइँ भएको थियो ।

मुलुकभर १३ लाख ७१ हजार ७ सय ६ हेक्टर जमिन धान रोप्न योग्य छ ।

केन्द्रले सार्वजनिक गरेको प्रतिवेदन अनुसार यो वर्ष हालसम्म सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा ९४.१७ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । यस्तै, कर्णालीमा ९२.४, प्रदेश ५ मा ८४.६, गण्डकी प्रदेशमा ८४.५६, प्रदेश ३ मा ७८.८३, प्रदेश २ मा ७४.५ र प्रदेश १ मा सबैभन्दा कम ७१.६५ प्रतिशत रोपाइँ भएको विभागले जनाएको छ । (रेडियो कान्तिपुरबाट साभार)