मानसिक रोगीलाई प्रहरीले लाठी र बुटले निर्घात कुटेपछि….. (भिडियो सहित)

काठमाण्डौं, असोज ४ ।
एकपछि अर्को प्रकरणमा प्रहरी संगठन विवादित बनिरहँदा काठमाडौंमा एक मानसिक रोगीलाई प्रहरीले निर्घात कुटपिट गरेको भिडियो सार्वजनिक भएको छ । गोंगबुस्थित शिव मन्दिर चोकमा सोमबार एक प्रहरी अधिकारीले मानसिक रोगीमाथि कुटपिट गरेको भिडियो सार्वजनिक भएको हो ।

त्यहाँको एक फेन्सी पसल अगाडि बसेका उनलाई बिहान साढे ६ बजे स्थानीयले हटाउन खाजेका थिए । तर, त्यहाँ पसले र मानसिक रोगीबीच विवाद हुन्छ । त्यसक्रममा स्थानीयले उनलाई पिटेर खेदाउन खोज्छन् । त्यसलाई नियालिरहेका एक प्रहरी भने झगडा छुट्टाउनु त कहाँ हो कहाँ उल्टै ती व्यक्तिलाई पिट्न थाल्छन् । ‘मर्निङ वाल्क’ मा रहेका लेखक दिलनिशानी मगरले यो भिडियो खिचेका हुन् ।

उनले राति पसलको पेटीमा सुतेको, फोहर गरिदिएको र जा भन्दा अपशब्द बोलेका कारण उनीमाथि कुटपिट गरिएको बताए । ‘त्यहाँ कार्टुनहरु हुने भएकाले ती व्यक्ति राति सुतेका रहेछन्’, मगरले अनलाइनखबरसँग भने, ‘बिहान पसलका मालिकहरु आएर उठाउन खोज्दा विवाद भएको थियो ।’

‘जा बहुला भनेर उनलाई धकेल्दा रिस उठ्दो रैछ । त्यसपछि विवाद सिर्जना भएको थियो’, उनले थपे, ‘प्रहरीले सम्झाउनु पर्नेमा उल्टै पसलेसँग मिलेर लाठी र लात्ती उमाथि बर्सायो ।’ प्रहरीले चाहीँ गल्ती गर्नेलाई कारबाही हुने जनाएको छ ।-भिडियाे दिल निसानी मगर