महिलालाई उद्घोषणकला र नेतृत्व विकास तालिम

पोखरा, जेठ ३० ।
पोखरा ८ स्थित नागवेली टोल विकास संस्थाले महिलाहरुका लागि उद्घोषणकला तथा नेतृत्व विकास तालिम गरेको छ । महिलामा रहेका क्षमता अभिबृद्धी गर्ने उद्देश्यले तालिम आयोजना गरिएको हो । मंगलबार तालिम उद्घाटन गर्दै पोखरा ८ का वडाध्यक्ष रुद्रनाथ बरालले अहिले राज्यले हरेक निकायमा महिला सहभागिता सुनिश्चित गरेकाले त्यसका लागि तयार रहन र क्षमता विकास गर्न आग्रह गरे । महिलाहरुको क्षमता अभिबृद्धी गर्न र राज्यको मुलधारमा ल्याउन तालिमको आवश्यक रहेको उनको भनाई छ । बरालले आगामी दिनमा पनि महिलाहरुको क्षमता विकास र सीप विकासका लागि वडाबाट प्राथमिकताका साथ योजना छनौट गर्ने प्रतिबद्धता जनाए ।

नेपाली काँग्रेसका नेता तथा समाजसेवी वीरेन्द्रनारायण विजुक्छेले नागवेली टोल विकास संस्थाले धेरै प्रशंसनीय काम गरेको भन्दै बधाई दिए । उनले टोल विकास संस्थाहरुले समुदायमा धेरै उत्कृष्ट काम गरेका भन्दै राज्यले उचित सम्मान दिन सक्नुपर्ने धारणा राखे । तालिम अन्तरमनको सुन्दरता हो भएको भन्दै उनले अन्तरमनमा पनि सक्षम हुनुपर्नेमा जोड दिए ।

वडा नम्बर ८ का सदस्य कृष्णमान ठुसाजुले पोखरा महानगरले महिलाहरुका लागि बढी प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको जानकारी दिए । उनले तालिम सिकेर ब्यवहारमा उपयोग गर्न आग्रह समेत गरेका छन् । कार्यक्रममा एयरपोर्ट टोल विकास संस्थाकी उपाध्यक्ष सावित्री घिमिरे, नागढुंगा विकास समाजका अध्यक्ष राजेन्द्रमान श्रेष्ठ , नागवेली टोल विकास संस्थाका सल्लाहकार कमल न्यौपाने लगायतले बोलेका थिए ।

संस्थाकी अध्यक्ष शारदा गिरीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सहसचिव आनन्द सापकोटाले गरेका थिए भने स्वागत गीता पौडेलले गरेकी थिईन् । तीनदिनसम्म चल्ने तालिमको सहजीकरण काँग्रेस नेतृ सरस्वती गुरुङ र पत्रकार प्रकाश ढकालले गरेका छन् ।