मतदाताका समस्या बुझ्न घरघरै पुगे कांग्रेस सांसद घले

मनाङ, भदौ २९ ।
चुनाव जितेपछि जिल्ला नफर्किने आम मतदाताको गुनासो अहिलेसम्म पनि फेरिएको छैन । जनताका समस्या बुझ्ने र सहयोग गर्ने भन्दा सांसदहरु राजधानीतिरै हराउने रोग बढी छ । तर मनाङका समानुपातिक सांसद कर्म घले यतिबेला समस्या बुझ्न जनताको घरघरमा पुगेका छन् ।

आफुँ र पार्टीलाई मत दिने जनतासँग भलाकुसारी गर्न उनी सबैजसो गाउँमा पुगेका छन् । नारपु गाउँपालिका बाहेक सबै गाउँपालिकाका जनतासँग छलफल गरेर समस्या संकलन गरिसकेका उनले सबैको माग केन्द्रमा लैजाने र सरकारसँग आग्रह गर्ने बताए ।

‘हामी प्रतिपक्षमा छौं । तर जनताको चासो र विकासका लागि निरन्तर लागिरहने छु । जनताले मसँग केही सम्भावना देखेर नै मलाई भोट दिनुभएको हो, उनले भने–अव जनताका अपेक्षा पूरा गर्ने दायित्व मेरो हो । म मनाङी जनताको साथमा छु ।’ उनले शिक्षा, स्वास्थ्य नै आजको आधारभुत आवश्यक्ता रहेकोले त्यसतर्फ अग्रसर हुन आग्रह गरे ।

त्यस्तै मोटर बाटो, पर्यटन, जडिवुटि र जलविद्युत क्षेत्रमा लगानि गर्न जनप्रतिनिधिसँग उनको आग्रह छ । घले नेपाली काँग्रेसबाट मनाङको समानुपातिक प्रतिनिधीसभा सांसद हुन् ।