भीमादबाट नारायणगढ जाँदै गरेको बस दुर्घटना, ३७ जना घाइते

दमौली, कार्तिक २५ ।
पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा आज दिउँसो बस दुर्घटना हुँदा ३७ जना घाइते भएका छन् । तनहुँको भीमाददेखि चितवनको नारायणगढतर्फ जाँदै गरेको ग १ ख ५८४७ नम्बरको बस राजमार्ग छेउबाट खस्दा यात्रु घाइते भएका हुन् ।

घाइतेमध्ये स्याङ्जाका १३ वर्षीय सनम थापाको अवस्था गम्भीर रहेको र अन्य यात्रुहरुको अवस्था सामान्य रहेको प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । उनका अनुसार घाइतेमध्ये चार जनाको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा, १० जनाको दमौली अस्पतालमा, ६ जनाको व्यास सिटी अस्पतालमा र १७ जनाको रत्नहरि अस्पतालमा उपचार भइरहेको छ ।

सोही बसमा यात्रा गरेकी भीमादका सूर्यकुमारी रानाका अनुसार बसमा यात्रु खचाखच थिए । ‘दमौली आइपुग्नुभन्दा केही यता यात्रु चढाउन बस रोकिएको थियो, त्यो बेला चालक निदाउन खोजेको हो कि जस्तो देखिएको थियो,’ उनले भनिन् ।