बोलेरो दुर्घटनामा एकको मृत्यु

गुल्मी, असोज ८ ।
गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । ज्यान जानेमा रेसुङ्गा नगरपालिका–३ निवासी ३६ वर्षीय बाबुराम पन्थी रहेका छन् । गुल्मीको गौँडाकोटबाट तम्घास आउँदै गरेको बा ११ च ८८०३ नम्बरको बोलेरो जिप रेसुङ्गा नगरपालिका–१३ स्थित भंगारी भन्ने स्थानमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
दुर्घटनामा परी जिपका चालक इस्मा गाउँपालिका–२ निवासी ३४ वर्षीय डम्मर कुँवर घाइते भएका छन् । घाइते चालकको जिल्ला अस्पताल तम्घासमा उपचार भइरहेको छ ।
घटनास्थलमा जिल्ला प्रहरी कार्यालय गुल्मी र सशस्त्र प्रहरीले उद्धार गरेका थिए । दुर्घटना भएको उक्त जिप सडकबाट करिब २०० मिटरभन्दा तल खसेको छ ।