बुद्धको देशमा अब हत्या, हिंसा र अशान्ति सम्भव छैन : नेता नेपाल

 

काठमाडौं, असोज ४ ।

नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले बन्दुक उठाएर कुनै शासन नआउने भएकाले बन्दुक बिसाएर राजनीतिक मुलधारमा आउन बिप्लव समूहलाई आह्वान गरेका छन् ।

अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा आज वारुदी सुरुङ प्रतिबन्द्ध अभियान नेपालले काठमाडौमा गरेको कार्यक्रममा उनले बुद्धको देशमा अब हत्या, हिंसा र अशान्ति सम्भव नहुने बताए ।

शक्तिको अहंकारबाट समस्या समाधान हुने भन्दा पनि बल्झिने भन्दै उनले सम्यम भएर अगाडि बढ्नु पर्ने बताए ।

पूर्व प्रधानमन्त्रीसमेत रहेका नेता नेपालले विश्वमा शान्तिको सन्देश दिनका लागि सबै राजनीतिक दल एक हुनु पर्ने पनि बताए ।

मानवअधिकारकर्मी कपिल श्रेष्ठ र गौरी प्रधानले दिगो शान्ति कायम गर्न समयमै सचेत हुनु पर्ने बताए ।

विगतमा भएको द्वन्द्वको पाठबाट सबैले बुझ्नु पर्ने भन्दै मानवअधिकारको रक्षाको लागि राजनीतिक दल प्रतिबद्ध हुनु पर्ने उनीहरुको भनाई थियो । कार्यक्रममा बारुदी सुरुङ र यसले पु¥याउने असरको बारेमा जानकारी गराइएको थियो । (ईमेजखबरबाट साभार)