बिहीबारदेखि मौसममा सुधार हुने

 

काठमाडौं, असोज १ ।

भारतको मध्यप्रदेशस्थित उत्तर–पश्चिमी क्षेत्र र उत्तर प्रदेशको दक्षिण भागमा बनेको न्यूनचापीय रेखा र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको असरले देशभर बदली हुनाका साथै वर्षा पनि भइरहेको छ ।

उक्त प्रणालीको असर बुधबार रातिसम्म कायम रहने र बिहीबारदेखि मौसममा सुधार हुँदै जाने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् बरुण पौडेलले बताए ।

‘बुधबार देशका मध्य र पश्चिमका धेरैजसो स्थान तथा पूर्वका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुनेछ’–उनले भने ।

देशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले पहिरो जानसक्ने, नदीमा पानीको वहाब बढ्नसक्ने र सडक तथा हवाई यातायातमासमेत अवरोध आउनसक्ने सम्भावना रहेकाले सतर्कता अपनाउन उनको सुझाव थियोे ।

सामान्यतया नेपालमा जुन १० मा मनसुन सुरु भएर सेप्टेम्बर २३ मा सकिने गर्छ । यस वर्ष नेपालमा १० दिन ढिलोगरी मनसुन भित्रिएको थियो ।

हाल देशका अधिकांश भागमा आंशिक तथा पूर्ण बदली रही केही स्थानमा मेघगर्जनसहित हल्का तथा मध्यम वर्षा भइरहेको छ ।

बिहीबारदेखि मौसममा सुधार हुने भएपनि शुक्रबारसम्म देशभर आंशिकदेखि सामान्य बदली हुनाका साथै हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाको पछिल्लो विवरणअनुसार बुधबार काठमाडौं उपत्यकामा २६.० मिलिमिटर वर्षा भएको छ ।

त्यस्तै, पोखरामा ४.० मिलिमिटर, सिमरामा १६.० मिलिमिटर, धनगढीमा २५.० मिलिमिटर जुम्लामा १.० मिलिमिटर र दिपालयमा ११.० मिलिमिटर वर्षा भएको छ ।(रासस)