बागलुङमा प्रधानाध्यापकको कुटाइबाट विद्यार्थी घाइते

पोखरा, साउन २४ ।

प्रधानाध्यापकको कुटाइबाट बागलुङमा एक छात्र घाइते भएका छन् । बागलुङ नगरपालिका वडा नं १४ नारायणस्थानस्थित गणेश माध्यमिक विद्यालयका प्रअ कृष्ण गौतमको कुटाइबाट कक्षा १० मा अध्ययनरत १६ वर्षीय कुशल पौडेल घाइते भएका हुन् ।

कुटाइका कारण कुशलकोे अगाडिको माथिल्लो दाँत खसेको उनका बाबु प्रेमप्रसाद शर्मा पौडेलले जानकारी दिए । अतिरिक्त गणित विषय पढाउने प्रअ गौतमले कुशलले नजानेको निहुँमा कुटपिट गरेको र उनी बेहोस नहुन्जेलसम्म कुटपिट गरेको शर्माले गुनासो गरे । “छोराका साथीहरुले भनेको सुन्दा धेरैबेर कुटपिट गरेपछि ऊ बेहोस भएको थियो”, पौडेलले भने , “माथिल्लो दाँत खसेकाले त्यहीँका शिक्षकले खबर गरेपछि हामी पुगेर ल्याएका हौँ”, पीडितकी आमा स्वास्थ्यकर्मी भएकाले घरमै उपचार गरेर राखिएको छ ।

जिल्ला सदरमुकामा रहेको चिल्ड्रेन लाइफ बोर्डिङ स्कुलमा कक्षा ७ सम्म अध्ययन गरेका पौडेललाई राम्रो पढाई भएको भन्दै कक्षा ८ मा गणेश मावि लगिएको थियो । बाबु प्रेमप्रसाद शर्मा पौडेल पनि शिक्षण पेशामा छन् । “पठनपाठन राम्रो हुन्छ भनेर गणेश माविमा पठाइयो”, उनले भने , “म पनि शिक्षक हो, विद्यार्थीलाई कुटपिट गर्न पाइँदैन ।” ती शिक्षकविरुद्ध कानूनी उपचार गर्ने बताउँदै पौडेलले कुशल खेलाडीसमेत भएकाले सामान्य चोटबाट उनी पीडित नहुनुपर्ने बताए ।

विद्यालयमा कुटपिट भएको विषयमा विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकलाई समेत सम्पर्क गर्न खोज्दा सम्पर्क भएन । सोही विद्यालयका एक शिक्षकले भने कुटपिट भएको बताउनुभयो । (रासस)