प्रधानमन्त्री ओलीलगायत चार जनाविरुद्ध अख्तियारमा उजुरी

 

काठमाडौँ, फागुन ११ ।

प्रधानमन्त्री केपी शर्मा ओलीलगायत चार व्यक्तिविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ।

बाँके नेपालगञ्जका प्रेमबहादुर शाही र मकवानपुर हेटौँडाका आनन्दराम पौडेलले प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालिन सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बास्कोटा, तत्कालिन सूचना तथा संचार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङ र नेपाल सेक्युरिटी प्रेसका सिइओ विकल पौडेलविरुद्ध आइतबार अख्तियारमा उजुरी दिएका हुन् ।

सेक्युरिटी प्रेस खरिद प्रक्रियामा स्वीस कम्पनीसँग ७० करोड ‘कमिशन’ मागेको भन्दै चारैजना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको हो ।

सेक्युरेटी प्रेस खरिद प्रकरणमा एजेन्टसँग ७० करोड घुस मागेको अडियो बाहिरिएपछि बास्कोटाले बिहीबार पदबाट राजीनामा दिएका थिए ।

‘प्रधानमन्त्री जस्तो जिम्मेवार र उत्तरदायी पदमा रहेका व्यक्ति यस्तो भ्रष्टाचार भएको प्रमाण आफ्नो जानकारीमा आएपछि भ्रष्टाचार सम्बन्धी अनुसन्धान गर्ने र मुद्दा चलाउने संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई जानकारी दिनुपर्ने दायीत्व र कर्तव्य रहेकोमा सो प्रमाण लुकाएबाट निज प्रधानमन्त्री पनि सो भ्रष्टाचारको उद्योग कार्यमा संलग्न र मतियार रहेको स्वतः पुष्टी हुन्छ,’उजुरीमा भनिएको छ ।
(ईमेजखबरबाट साभार)