प्रधानमन्त्रीको उपस्थितिमा कर्णाली प्रतिष्ठानको छैटौ सिनेट बैठक जुम्लामा बस्दै

जुम्ला, ३० चैत

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको छैटौ सिनेट बैठक पहिलो पटक केन्द्रीय कार्यालय जुम्लामा बस्ने भएको छ । प्रतिष्ठानका क्ुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओली रारा पर्यटन वर्ष २०७५ को अवसरमा वैशाख १ गते जुम्ला आउने भएपछि सिनेटको बैठक जुम्लामा बस्ने भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका उपकुलपति डाक्टर राजेन्द्र राज वाग्लेले जानकारी दिए ।

प्रतिष्ठानको ऐन २०६८ अनुसार कुलपति प्रधानमन्त्री हुने व्यवस्था हुने भएपछि ५ औं बैठकसम्म प्रधानमन्त्रीको उपस्थितिमा केन्द्रीय कार्यालय जुम्लामा बैठक राख्न नसकिएपछि राजधानी काठमाडौंमै बैठकहरु सम्पन्न भएका थिए । यो पटक रारा पर्यटक वर्ष २०७५ को अवसरमा प्रधामन्त्रीको कर्णाली यात्रा हुने भएपछि जुम्लामा बैठक बस्ने तयारी भव्य गरिएको छ ।

जुम्लामा प्रतिष्ठानको सिनेट बैठक तयारीका लागि नेपाल सरकार स्वास्थ्य राज्यमन्त्री पदमा कुमारी अर्याल, पूर्व शान्ति मन्त्री तथा सिनेट सदस्य सत्य पहाडि, पूर्व स्वास्थ्य मन्त्री खगराज अधिकारी, पूर्व संस्कृत पर्यटन तथा नागरिक उड्यन राज्यमन्त्री तथा सिनेट सदस्य बलबहादुर महत, स्वास्थ्य सचिव पुष्पा चौधरी, जुम्लाका प्रतिनिधिसभा सांसद गजेन्द्रबहादुर महत, सांसद टेकु नेपाली पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका संस्थापक उपकुलपति डाक्टर अर्जुन कार्की सहितको टिम तयारीका लागि जुम्ला पुगिसकेको छ ।

प्रधानमन्त्री ओलीको उपस्थितिमा कर्णाली प्रदेशको स्वास्थ्य क्षेत्रको धरोहर मानिने कर्णाली प्रतिष्ठानको छैटौ बैठकबाट प्रतिष्ठानको बहुवर्षीय योजना, एम विवि एस कक्षाको अध्ययन, अध्यापन, एमडि एमएस कक्षाको संचालनदेखि महत्वपूर्ण प्रस्तावहरु अगाडि सारिने तयारी भएको प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले जानकारी दिए ।