प्यूजिओको शोरुम पोखरामा पहिलो पटक

पोखरा, असार २० ।
२ सय बर्ष पूरानो प्यूजिओ गाडी पोखरामा पहिलोपटक भित्रिएको छ । स्थापनाको २५ बर्ष पुगेको अवसरमा गण्डकी ट्रेड हाउसले पोखरामा प्यूजिओको गाडी शोरुम मंगलबारदेखि सुरु गरेको हो । प्रदेशका अर्थमन्त्री किरण गुरुङले शोरुम उद्घाटन गरे । गुरुङले प्रदेशको समृद्धिका लागि आर्थिक गतिविधि अत्यावश्यक भएको बताए । उनले निजी क्षेत्रको सक्रियताले मात्रै देशमा समृद्धी सम्भव हुने उल्लेख गरे । राज्यलाई स्वःस्फुर्त रुपमा कर तिरेर सेवा सुविधा माग गर्ने अवस्थाको सिर्जना गर्ने उनको प्रतिवद्धता छ ।

प्रदेश ४ का प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नोपलीले समाजवाद लोकतन्त्रमा मात्रै प्राप्त हुने उल्लेख गरे । ‘न अति पुँजीवादमा समाजवाद आउँछ, न साम्यवादबाट आर्थिक समृद्धिको अपेक्षा गर्न सकिन्छ, उनले भने–समाजवाद ल्याउन र आर्थिक उन्नतीका लागि लोकतन्त्र बलियो हुनुपर्छ ।’ नीजि क्षेत्रलाई लगानीमा प्रोत्साहित गर्दै अघि बढ्नुपर्ने भन्दै उनले राज्यले समन्वयकारी भूमिका पूरा गर्नुपर्ने सुझाव दिए । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय अध्यक्ष आनन्दराज मुल्मीले राज्यले नीजि क्षेत्रलाई प्रोत्साहित गर्नुपर्ने भन्दै लगानीको माध्यमबाट रोजगारी सिर्जना गर्नेतर्फ उन्मुख रहनुपर्ने बताए । ग्रुपका प्रमुख कार्यकारी अधिकृत विन्दुकुमार थापाले ग्रुपले हाउजिङ, टे«ेड महलका साथै बैंकिङ क्षेत्र समेतमा लगानी गर्दै आएको ग्रुपले पोखरामा थप व्यापरिक प्रयोजनका साथ प्यूजिओ कम्पनीको गाडी भित्र्याएको बताए ।

कार्यक्रममा नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसी, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखे, काँग्रेस नेता शुक्रराज शर्मा लगायतले राज्यले आर्थिक विकासमा नीजि क्षेत्रको भूमिका अझै स्पष्ट पार्न नसकेको बताए ।

मंगलबार लञ्चिङ गरिएका गाडीमध्ये प्यूजिओ ३००८ को मुल्य १ करोड १३ लाख र १ करोड २६ लाख छ । पीयूजिओट ५००८को मुल्य १ करोड ३४ लाख छ भने २००८ को मुल्य ८२ लाख रहेको म्यानेजिङ डाईरेक्टर सौगात थापाले जानकारी दिए । सबै गाडी पेट्रोल इञ्जिनका छन् । प्यूजिओ गाडीहरु नयाँ प्रविधियुक्त र उच्चस्तरीय रहेको सांग्रिला मोटर्स प्रालिका निर्देशक हेमन्त गोल्छाले जानकारी दिए । उनका अनुसार यी गाडीमा २ बर्षको वारेण्टी छ भने ८ पटकसम्म फ्रि सर्भिसिङको ब्यवस्था समेत छ ।

यसैबीच, गाडीको लञ्चिङ गर्दै मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले निजी क्षेत्रको लगानीबाट देश समृद्धीको बाटोमा उन्मुख हुने धारणा राखे । उनले सरकारले लिएका सबै लक्ष्यहरु पूरा गर्न प्रतिबद्ध रहेको भन्दै त्यसका लागि निजी क्षेत्रको पनि सहयोग आवश्यक हुने बताए ।