पोखरा फाइनान्सको एफपीओ बाँडफाँड

काठमाडौं, भदौ २९ ।
पोखरा फाइनान्सको एफपिओ बिहीवार बाँडफाँड गरिएको छ । एफपिओमा सबै आवेदकले १० कित्ता शेयर पाएका छन् । लगानीकर्ताले यसभन्दा बढी ३२ कित्तासम्म शेयर हात पारेका छन् ।
१० र २० कित्ताका लागि आवेदन दिने सबैले शेयर पाएको विक्री प्रबन्धक एनआइविएल क्यापिटल लिमिटेडले जानकारी दिएको छ । विक्री प्रबन्धकका अनुसार ४६ हजार ६ सय ८३ जना लगानीकर्ताले १० कित्तादेखि ३० कित्तासम्म सेयर हात पारेका छन् । १० कित्ता शेयरका लागि १४ हजार ९ सय ६८ र २० कित्ता शेयरका लागि १० हजार १ सय ६ जनाको आवेदन परेको थियो ।
यसैगरी, ३० कित्ता तथा सो भन्दा बढी ४ हजार ९ सय कित्तासम्म आवेदन दिएका २१ हजार ६ सय ९ जना आवेदकमध्ये गोलाप्रथाबाट २१ हजार ६ सय ७ जनाले ३० कित्ता शेयर पाएका छन् । २ जनाको भागमा ३२ कित्ता शेयर परेको विक्री प्रबन्धकले बताएको छ । पोखराको एफपिओमा ७२ करोड ६० लाख बराबरको आवेदन परेको थियो । एफपीओमा न्यूनतम १० देखि अधिकतम ४ हजार ९ सय कित्तासम्म आवेदन दिन सकिने ब्यवस्था थियो ।
कम्पनीले प्रतिशेयर १ सय रुपैयाँमा प्रिमियम वापत १ सय २० रुपैयाँ थप गरी २ सय २० रुपैयाँका दरले साउन २९ देखि भदौ १ गतेसम्म ९ लाख ८३ हजार ६ सय ८१ कित्ता एफपीओ विक्री खुला गरेको थियो । आव ०७३÷७४ को चौथो त्रैमासमा ८ करोड ७७ लाख ७७ हजार नाफा कमाएको पोखरा फाइनान्सको सो समयसम्म ५५ करोड ७४ लाख २० हजार चुक्तापूँजी छ भने प्रतिशेयर आम्दानी १५ दशमलव ७४ रुपैयाँ छ ।