पाल्पाका किसानहरुलाई वन्यजन्तुबाट हैरानी, बालीनाली सखाप
पाल्पा, भदौ १ ।
पाल्पाको रैनादेवी छहरा गाउँपालिकाका किसानहरु वन्यजन्तुबाट हैरानी व्यहोर्न बाध्य छन् ।
कृषकहरुले आफ्ना बारीमा लगाएका खाद्यान्न बाली वन्यजन्तुले नोक्सानी र्पुयाउन थालेपछि उनीहरु मारमा परेका हुन् ।
जिल्लाको मुख्य बालीका रुपमा स्थापित मकै वन्यजन्तु वाँदर, दुम्सी, वँदेल, हरिण र मृगबाट जोगाउन किसानलाई निकै कठिन भएको उनीहरुको गुनासो छ । किसानहरुले लगाएको बाली रातको समयमा बारीमा आउने जनावरले नोक्सानी र्पुयाएको उनीहरुले बताएका छन् ।
वर्षभरी खाने र गाई भैसीलाई समेत खुवाउने मकै बाली वन्यजन्तुले सखापै हुने गरि नष्ट गरिदिएपछि कृषकहरु दिनप्रति चिन्तित वन्दै गएका हुन् । वन जंगलमा वन्य जन्तुको आहारामा समस्या भएपछि जनावरहरु गाउँ पस्न थालेको उनीहरुले बताएका छन् ।
वन्यजन्तुबाट वाली जोगाउने विषयमा स्थानीय प्रदेश सरकारले समयमै नीति बनाउनतर्फ पहल गर्न किसानहरुले सुझाएका छन् । उनीहरुले क्षतिपूर्तिको माग समेत गरेका छन् ।
(ईमेजखबरबाट साभार)