पार्टीको निर्णय सबैले मान्नुपर्छ, पार्टीलाई कसैको स्वार्थले फुटाउन सक्दैन : खनाल

 

नुवाकोट, फागुन १७ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले पार्टीको सचिवालयले गरेको निर्णय सबैले मान्नुपर्ने बताएका छन् ।

विदुरमा शनिबार प्रेस संगठन नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता खनालले पार्टीको सचिवालयले गरेको निर्णय सबैले मान्नुको विकल्प नभएको बताएका हुन् ।

सञ्चारकर्मीले पार्टी सचिवालयले वामदेव गौतमलाई राष्ट्रियसभामा मनोनीत गर्न गरेको निर्णयलाई प्रधानमन्त्री केपी ओलीले अस्वीकार गरेको भन्ने विषयमा सोधेको प्रश्नको जवाफ दिँदै पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले भने–‘पार्टीको निर्णय सबैले मान्नुपर्छ । प्रधानमन्त्रीले मान्नु नपर्ने, अरुले मान्नुपर्ने हुँदैन । पार्टीको निर्णयभन्दा बाहिर कोही जान पाउँदैन ।’

उनले पार्टी एकतामा कहीँ–कतै आँच आउन नदिनेसमेत बताए ।

उनले पार्टी फुट्छ भनेर अरु दलले भनिरहेका छन् भने त्यो केवल दिवास्वप्नमात्र भएको बताए ।

‘पार्टी एक ढिक्का भएर अघि बढ्छ । पार्टीलाई कसैको स्वार्थले फुटाउन सक्दैन’–उनले भने ।

नेता खनालले ‘एमसीसी’ अहिलेकै अवस्थामा पारित हुन नहुने दोर्होयाए । एमसीसी सच्याएर अघि बढ्दामात्र नेपालको हितका लागि हुने उनले बताए । (रासस)