पश्चिम एशियामा तनाव नबढाउन नेपालको आह्वान
काठमाडौं, पुस २४ ।
नेपालले खाडी क्षेत्रमा देखिएको तनाबमा आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । परराष्ट्र मन्त्रालयले विहीबार विज्ञप्ति निकाली पश्चिम एशियामा उत्पन्न भएको तनावप्रति चिन्ता व्यक्त गरेको हो ।
त्यस क्षेत्रमा ठूलो संख्यामा नेपाली आप्रवासीहरु कार्यरत रहेको भन्दै उनीहरुको सुरक्षा आफ्नो प्राथमिकताको विषय रहेको नेपालले प्रष्ट पारेको हो ।
‘हामी सबै पक्षलाई यस क्षेत्रमा तनाव बढाउने तथा शान्ति र स्थायित्वलाई खतरामा पार्ने खालका काम–कारबाही नगर्न आह्वान गर्छौं ।’ मन्त्रालयले निकालेको विज्ञप्तिमा भनिएको छ ।
प्रचलनमा रहेको मध्यपूर्व भन्ने शब्दावलीको साटो पश्चिम एशिया क्षेत्र भन्दै जारी विज्ञप्तिमा सबै विवाद र मतभेदलाई शान्तिपूर्ण माध्यमबाट समाधान गर्नुपर्ने नेपालको अडान रहेको उल्लेख छ ।
इरानका शक्तिशाली सैन्य अधिकृत कसिम सुलेमानीलाई अमेरिकाले ड्रोन आक्रमण गरी मारेपछि दुई देशबीच तनाव उत्पन्न भएको छ । जवाफमा इरानले पनि इराकस्थित अमेरिकी सैन्य शिविरमा आक्रमण गरेको छ ।
(ईमेजखबरबाट साभार)