पश्चिमी वायुको प्रभावले मौसममा बदली

 

काठमाडौं, कार्तिक ३ ।

पश्चिमी वायुको प्रभावले मुलुकभरको मौसममा सामान्यदेखि पूर्णबदली आएकाले देशका केही स्थानमा हल्का वर्षाको सम्भावनासमेत रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आइतबार देशभर सामान्य बदली रही मध्य र पूर्वका थोरै स्थानमा र पश्चिमका एक–दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको छ ।

त्यस्तै, आइतबार घाम लाग्ने सम्भावना भने कम रहेको र घाम लागे पनि थोरै समयका लागिमात्र देखिने महाशाखाका मौसमविद् गंगा नगरकोटीले बताइन् ।

घाम नलाग्दा अधिकतम् तापक्रममा गिरावट आइ चिसो बढ्नेछ ।

नेपालबाट मनसुन बाहिरिएसँगै पश्चिमी वायुको प्रभाव बढेको र न्यूनतम् तापक्रम घट्नेक्रममा रहेको उनले जानकारी गराइन् ।

अरब सागरबाट नेपाल बहने पश्चिमी जलवायुक्त हावाले तत्काल ठूलो वर्षाको सम्भावना भने नरहेको महाशाखाले जनाएको छ । (रासस)