पर्वतको भुकताङलेमा कम्प्युटर तालिम

पोखरा, फागुन २९ ।
कम्प्युटर एशोसियसन महासंघ नेपाल, पर्वतले मोदी गाउँपालिका वडा नं. १ भुकताङलेमा कम्प्युटर मर्मत तथा सीप हस्तान्तरण कार्यक्रम गरेको छ । कार्यक्रमको ब्यवस्थापन मोदी गाउँपालिका १ नं. वडा कार्यालयले गरेको हो । कार्यक्रममा क्यान नेपालका सचिब जगनबहादुर गुरुङ, क्यान नेपालका ४ नं. प्रदेश अध्यक्ष चिन्तामणी बास्तोला, मोदी १ का अध्यक्ष गौप्रसाद गुरुङ, क्यान कास्कीका अध्यक्ष युवराज पौडेल, मोदी गाउँपालिकाका कम्प्युटर ईन्जिनियर दिपक शर्मा लगायतले बोलेका थिए ।
भुक माध्यमिक बिद्यालयका प्रधानाध्यापक बुद्धिमान गुरुङले कार्यक्रम माथि प्रकाश पार्दै स्वागत गरेका थिए । क्यानका ४ नं. प्रदेश अध्यक्ष चिन्तामणी बास्तोला र क्यान नेपालका सचिब जगनबहादुर गुरुङले गाउँलाई पनि प्रबिधिमैत्री बनाउने अभियान सुरु भएको बताए । उनीहरुले आवश्यक सहयोग जुटाएर निरन्तर काम गरिरहने बताएका छन् । वडा अध्यक्ष गौप्रसाद गुरुङले वडालाई प्रविधिसँग जोडेर नयाँ हिसावले परिस्कृत गर्दै लैजाने बताए । क्यान पर्वतका अध्यक्ष गोपिनाथ तिमिल्सिनाको अध्यक्षतामा भएको तालिममा मोदी १ भुकताङलेमा रहेका ६ वटा विद्यालयका १५ जना कम्प्युटर शिक्षक सहभागी छन् । मोदी गाउँपालिका कम्प्युटर ईन्जिनियर दिपक शर्मा र क्यान पर्वतका अध्यक्ष गोपिनाथ तिमिल्सिनाले तालिममा सहजीकरण गरे भने सञ्चालन क्यानका सचिव खड्कबहादुर गुरुङले गरेका थिए ।